कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

खारिँदै राजमार्गका मोड

सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डका घुम्ती कटान गरी सडक फराकिलो बनाइँदै
कान्तिपुर संवाददाता

स्याङ्जा — सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डका घुम्तीलाई खारेर सडक फराकिलो पार्ने काम भइरहेको छ । डेढ वर्षयता जोखिमपूर्ण घुम्ती कटान गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

खारिँदै राजमार्गका मोड

कास्कीको सिमाना कुबिन्डेदेखि पाल्पाको राम्दीसम्म राजमार्गको ८२ किमि खण्ड स्याङ्जामा पर्छ । जिल्लाका अधिकांश प्रमुख बजार क्षेत्र राजमार्गमै छन् । हालसम्म १२ वटा ठूला घुम्ती कटान गरिएको सडक डिभिजनका प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्रीले बताए । ‘सडक फराकिलो पारेसँगै दुर्घटनामा कमी आउनुका साथै सवारी जाम पनि घट्नेछ,’ उनले भने । सडक डिभिजनले सडक मर्मतसम्भारबाट बचेको रकमले घुम्ती फराकिलो पारिरहेको उनले बताए । ‘विभागबाट घुम्ती खार्नका लागि बजेट वा कुनै कार्यक्रम आएको छैन,’ उनले भने, ‘हामीले सडक दुर्घटनाको संख्या बढदै गएपछि मर्मतबाट बचेको रकम कटानतर्फ हालेका हौं ।’ कास्कीको पुम्दीघुम्दीदेखि घुम्ती फराकिलो बनाउन मोड खार्न सुरु गरेको काम स्याङ्जाको वालिङ नगरपालिकासम्म पुगेको उनले बताए । ‘वालिङमा मोड खार्नका लागि नगरपालिकासँग सहकार्य छ,’ उनले भने, ‘हामीले मेसिन र चालक दिएका छौं, नगरपालिकाले तेल हालेको छ । वालिङका ठूला मोड धेरै भएकाले अझै केही मोड बाँकी छन् ।’


पुतलीबजारको बाडखोलामा मोड फराकिलो बनाउन पुतलीबजार नगरपालिकाले इन्धनमा सहयोग गरेको उनले बताए । ‘अन्य स्थानका घुम्तीको काम हामी आफैंले गरेका छौं,’ उनले भने । नगरपालिकाले बढी आवश्यकता महसुस गरी विस्तारमा आफैं क्रियाशील बनेको उनले बताए । सडकको सुधार तथा ट्राफिक सुरक्षाका लागि जोखिमका रूपमा रहेका पहाड फुटाउने योजना रहेको इन्जिनियर खत्रीले बताए । ‘मोड काटिएसँगै तत्काल नाली बनाउने र सडक विस्तार गर्नुपर्ने हो,’ उनले भने, ‘तत्काल गर्न सकिएको छैन । हिउँदमा सडक विस्तार गर्‍यो, वर्षामा पहिरो आउँछ र बगाउँछ ।’ हिउँद लागेसँगै नाली बनाउने र सडक पिच गर्ने काम पनि हुने उनले बताए ।


सिद्धार्थ राजमार्गलाई खाल्टाखुल्टीरहित बनाउने जिम्मेवारीमा रहेको सडक डिभिजनले स्तरोन्नतिका काम भने अपेक्षित गतिमा गर्न सकेको छैन । राजमार्गमा स्याङ्जाका ५ वटा स्थानीय तह पर्छन् । सबैले राजमार्ग खण्ड फराकिलो पार्न चासो दिएका छन् ।


‘ठूला, लामा मालवाहक गाडीलाई घुम्तीमा मोड नपुगेपछि समस्या छ,’ पुतलीबजार नगरप्रमुख सीमा क्षत्री भन्छिन्, ‘समस्या हटाउनकै लागि नगरपालिकाले ठूला मोड कटान गर्न सघाएको हो ।’ मोड कटानपछि राजमार्ग ८ मिटरसम्म थप चौडा हुने उनले बताइन् । मोड कटान, पर्खाल र नाली निर्माणमा आउने खर्च स्थानीय तह एक्लैले धान्न नसक्ने जनप्रतिनिधिले बताए । कटान गरेका मोडहरूका कारण सवारी जामको समस्या घटेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए । ‘मोडहरू कटान भएसँगै सवारी आवागमनमा सहज भएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?