१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रघुगंगाले काम थाल्यो

४५ महिनाभित्र निर्माणको काम पूरा गर्ने सम्झौता
प्राधिकरण र सर्वसाधारणको ७० र ३० प्रतिशत लगानी
घनश्याम खडका

म्याग्दी — रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा हाइड्रोपावरको काम सुरु भएको छ । भारतीय एक्जिम बैंकसँग ऋणको सहमति भएपछि मौवाफाँटदेखि बाँध निर्माणस्थल पुग्ने प्रवेशमार्ग निर्माणमा ठेकेदार लागेका हुन् ।

रघुगंगाले काम थाल्यो

विद्युत् प्राधिकरण मातहत रहनेगरी निर्माण हुन लागेको आयोजनाले भारतीय निर्माण कम्पनी जयप्रसाद (जेपी) एसोसिएट्ससँग ६ अर्ब रुपैयाँमा सिभिल एन्ड हाइड्रो मेकानिकलतर्फको ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार ठेकेदारले ४५ महिनाभित्र निर्माणको काम पूरा गर्नुपर्नेछ छ ।

‘लट १ को हाइड्रोमेकानिकलतर्फको सम्झौता भएर ठेकेदार फिल्डमा परिचालन भएको छ,’ आयोजनाका प्रबन्ध निर्देशक श्रीराम पाण्डेले भने, ‘ऋणदाता भारतीय एक्जिम बैंकबाट सहमति आउन समय लागेकाले ठेक्का सम्झौता भएको ६ महिनापछि मात्र ठेकेदार परिचालन भएको हो ।’

विद्युत् प्राधिकरणले राहुघाट जलविद्युत् आयोजनाको डिजाइन तथा क्षमता, निर्माण मोडेल र नामसमेत परिर्वतन गरी रघुगंगा हाइड्रोपावर बनाएर काम सुरु गरेको हो । ३२ मेगावाटको हुने भनिएको आयोजना अब क्षमता वृद्धि गरी ४० मेगावाट क्षमताको निर्माण गरिने डिजाइन छ । नयाँ मोडेलअनुसार रघुगंगा हाइड्रोमा ७० प्रतिशत विद्युत् प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।

नेपाल सरकारले भारतीय एक्जिम बैंकबाट सस्तो ब्याजमा लिन लागेको ऋणको सम्झौता सन् २०१६ मै सकिएको र नवीकरणमा ढिलाइ भएकाले रघुगंगासमेत दर्जनभन्दा बढी आयोजना प्रभावित भएका हुन् । ऋणदाता एक्जिम बैंकले सहमति जनाएपछि ठेकेदार कम्पनी जेपी एसोसिएट्स कार्यक्षेत्रमा परिचालन भएर री–डिजाइनसमेतका काममा जुटेको छ ।

राहुघाट आयोजनाले ०६५ देखि निर्माणका लागि सिभिल इन्जिनियरिङको काम सुरु गरेको थियो । ऋणको सर्तअनुसार नै प्राधिकरणले ०६७ कात्तिकमा दुई वर्षमा निर्माण पूरा गर्नेगरी भारतीय कम्पनी आईभीआरसीएल इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्स इन्डियासँग ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले ०६८ साउनमा कन्सल्ट्यान्टका रूपमा भारतीय कम्पनी वापकोषलाई नियुक्त गरेको थियो । तर, उक्त कम्पनीले समयमा काम गर्न नसकेपछि प्राधिकरणले ०७० मा ठेकेदार कम्पनी आईभीआरसीएलसँगको सम्झौता भंग गरेको थियो ।

‘रघुगंगा हाइड्रोको मोडेल परिर्वतन गरेका छौं । अब यो आयोजनामा ३० प्रतिशत जनताको सेयर स्वामित्व रहनेछ,’ आयोजनाका प्रबन्ध निर्देशक पाण्डेले भने, ‘पुरानो ठेकेदारसँग लेनदेन विषयमा अदालतमा मुद्दा रहेको अवस्था छ । नयाँ ठेकेदार परिचालन भएकाले पुरानो ठेकेदारले चर्चेको जमिन र निर्माण सामग्री हामीले लक गरी राखेका छौं ।’ पहिलो लटको ठेकेदार कार्यस्थलमा आइपुगेकाले एक्जिम बैंकको सहमति आउनासाथ इलेक्ट्रिोमेकानिकल प्याकेट लट २ पनि छिट्टै ग्लोबल टेन्डरको तयारीमा रहेको उनले बताए ।

३२ मेगावाटमा डिजाइन गरिएको आयोजना पहिलो ठेकदारसँगको सम्झौता रद्द भएपछि वित्तीय तथा प्राविधिक सम्भाव्यता पुनरावलोकन तथा पुन: नक्सांकनपछि ८ मेगावाट वृद्धि गरी ४० मेगावाट बनाइएको हो ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?