कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन्दिरको भेटी सामाजिक काममा

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिकाको खयरवाराही मन्दिरले भेटी तथा दानको रकम सार्वजनिक गरी सामाजिक काममा खर्च गर्न थालेको छ । भेटी र दानको रकम बैंकमा जम्मा गरी त्यसको ब्याजबाट मन्दिरका पुजारी, सरसफाइ कर्मचारी, जेष्ठ नागरिक आश्रम र वेदविद्याश्रम संस्कृत विद्यालय आदि व्यवस्थापनमा खर्च गर्ने गरिएको हो ।

मन्दिरको भेटी सामाजिक काममा

नागीवाराही, हिस्तानको प्यारीवाराही र मालिकाको मालिका मन्दिर हुँदै गलेश्वरले पनि हरहिसाब सार्वजनिक गर्न थालेका छन् । यसअघि धार्मिकस्थलले वर्षौंदेखि पुजारीको खटनपटनमा छाडेका थिए ।

साउनको तेस्रो सोमबार मात्रै ३ लाख २३ हजार रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । सदरमुकाम बेनीदेखि ३ किलोमिटर उत्तरमा अवस्थित गलेश्वरधाममा मंगलबार गणना गरिएको साउनका तीन सोमबारको भेटी ९ लाख १९ हजार रुपैयाँ पुगेको छ ।


साउनका हरेक सोमबार, बालाचतुर्दशी, शिवरात्रि पर्वको भोलिपल्ट र अन्य समय महिनाको पहिलो दिन मन्दिरमा भक्तजनले चढाएको भेटी तथा दानको रकम प्रहरी र स्थानीय अगुवासमेतको रोहवरमा सार्वजनिक रूपमा गणना गर्न थालिएको छ ।


‘पवित्र धार्मिक स्थललाई आर्थिक रूपमा पारदर्शी बनाउन दानदातव्य, भेटी र चन्दाको हिसाबलाई सार्वजनिक गर्दै आएका छौं,’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले भने, ‘नीतिगत एवं निर्णय प्रक्रिया पनि पारदर्शी बनाउँदै लगेका छौं ।’ धार्मिक संस्था अपारदर्शी रहेको आलोचना हुन नदिन सबै गन्तव्यका सञ्चालक समितिले हिसाबकिताब सार्वजनिक गर्नु राम्रो हुने उनले बताए ।


गलेश्वर मन्दिरले भने साउने सोमबार, शिवरात्रि, बालाचतुर्दर्शीजस्ता विशेष पर्वमा हुने पूजाअर्चनाको भेटी भोलिपल्ट र बाँकी समय हरेक महिनाको अन्तिम दिन प्रहरी, स्थानीय र कोषका पदाधिकारीको रोहवरमा गणना गरी आम्दानी बाँध्ने गरेको जानकारी उनले दिए ।

प्रकाशित : श्रावण २३, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?