कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उपाध्यक्षमा शर्मा

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशको नीति तथा योजना आगोगको उपाध्यक्ष नियुक्त गिरीधारी शर्मा पौडेलले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

उपाध्यक्षमा शर्मा

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई सपथ खुवाउँदै प्रदेशको विकासमा योजना बनाएर अघि बढ्न अनुरोध गरे । प्रदेश सरकारले स्याङ्जाको आँधिखोला गाउँपालिका ४ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।


पौडेल योजना र विकास विज्ञ मानिन्छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) मा काम गरेका उनी राष्ट्रिय योजना आयोगमा कार्यरत रहेकै बेला राजीनामा दिएर यता आएका हुन् । उनले प्रदेशको समृद्धिका लागि आफूले काम गर्ने र सहयोगका लागि सबै पक्षसँग अनुरोध गरे । आयोगमा उनी राष्ट्रिय योजना, अनुगमन तथा मूल्यांकन, क्षमता सुदृढीकरण आयोजनाका प्रबन्धक थिए । उनले थाइल्यान्डको एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट विकास योजनामा एमएससी र पिएचडी गरेका छन् । २१ वर्ष नेपाल परिवार नियोजन संघमा काम गरेका उनी त्यहाँ महानिर्देशक थिए ।


उपाध्यक्षमा नियुक्त पौडेलले प्रदेशको आर्थिक समृद्धिमार्फत विकास गर्ने योजना सुनाए । पर्यटन र ट्राभल्सको पूर्वाधार, ऊर्जाको विकासबाट पेट्रोलियम पदार्थको आयातलाई कम गर्दै जाने र ग्यास विस्थापित गर्ने, कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण र मझौला उद्योगमार्फत आर्थिक वृद्धि गरी गरिबी न्यूनीकरण गर्ने काममा लाग्ने बताए । प्रदेशको निरपेक्ष गरिबी २१ प्रतिशत रहेकोमा एक दशकमा त्यसलाई घटाएर ५ प्रतिशतमा झार्ने उनको भनाइ छ । ‘दिगो विकास लक्ष्यको प्रतिबद्धता पूरा गर्दै आर्थिक योजना तर्जुमा गरी अघि बढ्नेछु,’ उनले भने ।


प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७४ ले मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था गरेको छ । साथै कम्तीमा एक महिलासहित चार सदस्यीय आयोगमा अब दुई सदस्य थप्नुपर्छ । एकजना विज्ञ भने तीन महिनाका लागि नियुक्त गरिसकेको छ ।

प्रकाशित : श्रावण २३, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?