कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फुटपाथ छेकेर व्यापार

विना थापा

कास्की — साउनका सोमबार पोखरामा बैदामको केदारेश्वर र अरू दिन विन्ध्यवासिनी मन्दिरका फुटपाथ खुद्रे व्यापारीले ढाक्छन् । साउनका सोमबार शिवजीका मन्दिर धाउनेमध्ये बोलबम तीर्थयात्री बगरको गाईघाटमा पुग्छन् ।

फुटपाथ छेकेर व्यापार

त्यहाँबाट सेतीको जल लिएर केदारेश्वर मन्दिर आइपुग्छन् । गेरु वस्त्र लगाउने बाहेक पनि सर्वसाधारणको भीड गाईघाट र केदारेश्वरमा उत्तिकै हुने गरेको छ ।


दुवै ठाउँ फुटपाथ ढाकेर फूलपाती, पूजा सामग्री, खेलौना र तरकारीको व्यापार चल्छ । मगन्ते पनि बग्रेल्ती बसेका हुन्छन् । अन्त बजार क्षेत्रमा जस्तो देवालय छेउछाउ महानगरपालिकाका नगर रक्षकले फुटपाथका व्यापारीलाई खेददैनन्् । त्यसैले पनि तीर्थालुलाई असजिलो पार्दै व्यापार गर्नेको रोजाइमा गाईघाट र केदारेश्वर छ । वर्षायाम, त्यसमाथि पोखराको भूगोल ।

बिहान बेलुकी पानी परेकै छ । सेतीको जल लिन पुगिने गाईघाट क्षेत्र झर्दा बाटामा जति फुटपाथे व्यापारीको भीड छ, त्योभन्दा धेरै भीड केदारेश्वरमा हुन्छ । गाईघाट क्षेत्रमा सडकमा पानी जम्दैन, त्यसैले हिलोको समस्या छैन तर केदारेश्वर क्षेत्र वर्षाले हिलाम्य हुन्छ । हिलाम्य बाटोका दायाँ–बायाँ मन्दिर आउजाउ गर्नेलाई बाधा पुग्ने गरी व्यापारी बसेका हुन्छन् । मन्दिरको भित्री गेटसम्म आउजाउ गर्नेलाई बाधा पार्दै बस्नेको ठूलो संख्या मगन्तेहरू हुन्छन् । सपरिवार बसेका मगन्तेले श्रद्धालुलाई हात समातेर रोक्दै सहयोगको याचना गर्ने गरेका छन् । यसरी बस्ने मगन्तेमा ९० प्रतिशत
भारतीय छन् ।

‘केदारेश्वरलाई व्यवस्थित बनाइनुपर्छ, जथाभावी व्यापार गर्नेहरू बसेर मान्छेलाई हिँड्न सकस हुन्छ, त्यसमाथि फोहोर पनि हुनेगरेको छ,’ स्थानीय माया पहारीले भनिन्, ‘व्यापार गर्न बसे पनि साँझ–बिहान आफूले गरेको फोहोर आफैं तह लगाउनुपर्छ ।’ पर्यटकीय क्षेत्र भएकाले फोहोर व्यवस्थापन हुन जरुरी रहेको उनले बताइन् । फुटपाथे व्यवसायी सोमबारका लागि आइतबार नै ठाउँ ओगटेर राख्छन् । बिहानैदेखि व्यपार गर्छन् । उनीहरू उठेपछि फोहोर त्यत्तिकै हुने मन्दिर आउजाउ गर्नेहरू बताउँछन् ।

केदारेश्वरमा फोहोर उठाउन पारिश्रमिकको व्यवस्था गरेर एकजना कामदार राखेको बैदामको मूलथोक टोलविकास संस्थाले जनाएको छ । ‘गएको सोमबार १० बोरा मैला निस्किएको थियो,’ अध्यक्ष हिरू पुनमगरले भने, ‘मन्दिर आउनेलाई चाहिने सामान बेच्नेलाई रोक्नु पनि राम्रो मानिँदैन । घर बाहिरको मैला महानगरपालिकाको गाडीले लान नमान्दा भने व्यवस्थापन अलि गाह्रो भएको छ ।’ सीमित क्षेत्र तोकेर महानगरपालिकाले फुटपाथको व्यवस्थापन टोलविकास संस्थालाई दिनुपर्ने उनले बताए ।

फोहोर र आवातजावतमा बाटो अवरोध भएको गुनासो आएको पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले बताए । ‘धार्मिस्थलको व्यवस्थापन हामीले बाहिरबाट गर्दा हस्तक्षेपजस्तो देखिन्छ, मन्दिर व्यवस्थापन समितिको अगुवाइ भए मात्रै राम्रो हुन्छ,’ उनले भने, ‘सडक र फुटपाथ छेकेर बस्न, व्यापार गर्न पाइँदैन ।’ आस्थासँग जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यवस्थापनका लागि आफूले छलफल चलाउने उनले बताए ।

प्रकाशित : श्रावण २३, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?