कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बेलिब्रिजले मनाङ आउजाउ सहज

आश गुरुङ

लमजुङ — म्यार्दी खोलामा नयाँ बेलिब्रिज सञ्चालनमा आएपछि सडक निर्माण भएको एक दशकपछि मनाङको यात्रा सहज भएको छ । म्यार्दी खोला लमजुङ र मनाङको सीमामा पर्छ ।

बेलिब्रिजले मनाङ आउजाउ सहज

बेंसीसहर–चामे सडक निर्माणका क्रममा नेपाली सेनाले ०६४ मा काठेपुल निर्माण गरेको थियो । सेनाले सरकारलाई सडक हस्तान्तरण गरेको ५ वर्षपछि दुवै जिल्ला जोडिने गरी बेलिब्रिज निर्माण भएको हो । पुल निर्माणपछि यात्रु र चालकले राहतको महसुस गरेका छन् ।


दुई साताअघि म्यार्दीखोलाको भेल तरेर मनाङ पुगेका कास्कीका भवसागर घिमिरेले बेलिब्रिज भएर यात्रा गर्न पाउँदा खुसी लागेको बताए । ‘खोलाको भेलमा डुबेर कति गाडी डुबे । कतिपय बगाउन लागेका थिए भन्ने सुनियो,’ मंगलबार मनाङबाट लमजुङ आएका उनले भने, ‘त्यही ठाउँमा अहिले पुल बनेछ । मनाङ जानआउन सहज भएको छ ।’


सेनाले सडक निर्माण गर्दा बनाएको काठेपुल ०७२ जेठमा भाँचिएको थियो । त्यसपछि डिभिजन सडक कार्यालय दमौलीले ‘स्टिल गार्डर ब्रिज’ राखेको थियो । उक्त पुल एक महिनापछि असारमा म्यार्दी खोलामा आएको बाढीले बगाएपछि पुन: काठेपुल निर्माण गरी अस्थायी तवरले आवागमन सुचारु गराइएको थियो । उक्त काठेपुल भाँचिएपछि भने खोलाबाटै सवारीसाधन आवतजावत गरिरहेका थिए ।

फलामे बेलिब्रिज निर्माण भएपछि यात्रा सहज भएको जिपचालक होमप्रसाद गुरुङले बताए । ‘कतिका गाडीले पानी खाएर लाखौं खर्च भयो । कति दिन खोलाको बाढीले थुनेर तलको गाडी तल, माथिको माथि नै भएको थियो । हाल सहज भएको छ,’ उनले भने । मनाङको नासों गाउँपालिका १ तालका बुधराज गुरुङले बेलिब्रिज निर्माण भएपछि स्थानीयलाई सहज भएको बताए । ‘पुल नहुँदा मनाङ आउने डराउँथे । पुल बन्यो । अब यात्रा सहज भयो,’ उनले भने ।


डिभिजन सडक कार्यालय दमौलीका इन्जिनियर ठाकुर भण्डारीका अनुसार आइतबारदेखि उक्त पुलबाट मोटर गुड्न थालेको छ । उक्त पुल २ करोड ५ लाख १७ हजार रुपैयाँमा निर्माण गरिएको हो । २५ मिटर लम्बाइ र ७ मीटर चौडाइ (डबल लेन) को पुल निर्माण गरिने गरी फाउन्डेसन निर्माण गरिएको पुलको चौडाइ हाल सिंगल लेन ४ मिटर राखिएको छ । उक्त पुल निर्माण कार्य जेठ मसान्तमै सक्ने सम्झौता निर्माण कम्पनी ग्याल्बा–द क्याराभान जेभीले गरेको थियो ।

निर्माण कम्पनी द क्याराभान कन्ट्रक्सनका साइड इन्जिनियर विजय गौचनले पुल निर्माणपछि नागरिकलाई सहज भएको बताए । द क्याराभानका कन्ट्रयाक्ट म्यानेजर रामकृष्ण कोण्डाले पुल निर्माणकार्य २ महिना ढिलाइ भएको स्वीकारे । ‘काम गर्दै गर्दा डिजाइनमा आएको केही परिवर्तन, बर्खायाम र चट्टान निस्किएपछि प्रयोग गर्नुपर्ने जिलेटिनको प्रक्रिया, ढुवानी समस्या र सडक असहजले ढिलाइ भयो,’ उनले भने । ग्याल्बा–द क्याराभान जेभीले तिमाङखोला, पिसाङखोलालगायत मनाङका ५ ठाउँमा बेलिब्रिज राख्ने जिम्मा लिएको छ । ती ठाउँमा भने पुल निर्माण हुन सकेका छैनन् ।


जिल्ला जोड्ने मुख्य नाका म्यार्दीखोला भएकाले यसलाई प्राथामिकता दिएको निर्माण कम्पनीले जनाएको छ । बेंसीसहरदेखि ३५ किलोमिटर र मनाङको चामेदेखि ३० किलोमिटरको दूरीमा म्यार्दीखोला पर्छ । नेपाली सेनाले एक दशकको प्रयासपछि चामेसम्म मोटरबाटोको ट्रयाक खोलेको थियो । सडक विभागले आर्थिक वर्ष ०५१/५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । आव ०५७/५८ पछि सेनालाई सडक निर्माणको जिम्मा लगाएको थियो ।

प्रकाशित : श्रावण २३, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?