कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

आगन्तुक लोभ्याउँदै शिवलिंग

दिप्ती सिलवाल

पर्वत — जिल्लाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमा पर्ने मोदीवेणीमा आगन्तुकलाई आकर्षण गर्न शिवलिंगको चौघेरो प्रतिस्थापन गरिएको छ ।

आगन्तुक लोभ्याउँदै शिवलिंग

काली र मोदीको संगमस्थलमा आउने आन्तरिक धार्मिक पर्यटकलाई यस क्षेत्रको महत्त्व झल्काउन ६४ वटा पञ्चमुखी शिवलिंगको चौघेरो मोदीवेणी धार्मिक तथा पर्यटकीय विकास समितिले निर्माण गरेको हो ।

नृसिंह मन्दिर परिसरमा बनाइएको शिवलिंगमा स्थानीय एवं मोदीवेणी दर्शनका लागि आउने तीर्थालुको सहयोगमा करिब १५ लाख लगानीमा एकै मण्डपमा चौघेरो बनाइएको हो । अघिल्लो असोजमा गरिएको सामूहिक श्राद्धमा दाताहरूले गरेको दानबाट चौघेरो बनाउन सम्भव भएको समितिका अध्यक्ष गोपालदास पौडेलले बताए ।

६४ शिवलिंग ९ लाख ६० हजार रुपैयाँमा खरिद गरी ल्याइएको समिति सदस्य युवनाथ गौंडेल रेग्मीले बताए । एउटै मण्डपमा चौघेरो बनाएर शिवलिंग स्थापना गर्दा १५ लाख खर्च भएको छ । स्रोहश्राद्धमा दानबापत प्राप्त भएको ६० हजार, कुश्मा ५ को ५० हजार, अन्य सहयोगी तथा समितिले व्यहोर्ने गरी निर्माण सम्पन्न हुने चरणमा रहेको समितिले जनाएको छ ।

कुश्मा ५ मा कालीगण्डकी र मोदीखोलाको संगमस्थलमा रहेको मोदीवेणीमा प्राकृतिक र धार्मिक दुवै प्रकारले चर्चित बन्दै गएपछि समिति र स्थानीय सरकारको चासो बढ्न थालेको हो । समितिले २ वर्षअघि निर्माण गरेको व्यवस्थित वृद्धाश्रममा अहिले २६ ज्येष्ठ नागरिकले आश्रय लिएका छन् । वृद्धाश्रम २०६६ देखि सञ्चालन भए पनि २ वर्षअघि दाताको सहयोगमा आश्रम व्यवस्थित गरिएको हो ।

कालीगण्डकी र किनारमा पाइने शालिग्रामका कारण शिवको पर्याय मान्ने तीर्थालुको भीड लाग्छ । साउने सोमबार, एकादशी, बालाचतुदर्शीलगायत पर्वमा यहाँ टाढा–टाढाबाट तीर्थालु आउने गर्छन् । मोदीवेणी बागलुङ, पर्वत र स्याङ्जाको समेत सामूहिक घाट हो । समितिले २०७३ मा १ सय ८ गौमुखेधारा र १ सय १२ तुलसीका मठ निर्माण गरेको थियो । यहाँ चाडबाडमा महापुराण, यज्ञ, भजनकीर्तन र सामूहिक पूजाआजालगायत धार्मिक गतिविधि हुँदै आएका छन् ।

दैनिकजसो करिब २ सय धार्मिक पर्यटक पुग्ने मोदीवेणी जान कुश्मादेखि करिब १ किमि ढलान गरिएको सिँढीसहितको पैदल मार्ग बनाइएको छ । कुश्माका बासिन्दा प्रात:भ्रमण (मर्निङ वाक) गर्न पनि मोदीवेणी पुग्छन् । कालीगण्डकीमा स्नान गर्न, नृसिंह मन्दिर दर्शन र सामूहिक घाट समेत रहेकाले पिण्डदान, तर्पण श्राद्धका लागि विभिन्न ठाउँबाट सर्वसाधारण आउने गर्छन् ।

सोह्रश्राद्धमा मुक्तिनाथ पुग्न नसक्नेहरू पितृउद्धारका लागि मोदीवेणीमै पिण्डदान गरे मुक्ति पाउने विश्वास गर्छन् । नेपालकै अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुंगे पुल हेर्न आउने पर्यटक पनि पछिल्लो समय मोदीवेणीमा पुग्ने गरेका छन् । अग्ला झोलुंगे पुल भएर पैदल १२/१५ मिनेटमै पुगिन्छ ।

प्रकाशित : श्रावण २२, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?