२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

साथीको बर्थडेमा जान्छु भन्दै निस्किएका बालक बेपत्ता

लालप्रसाद शर्मा

पोखरा — पोखराको जिरो किलोमिटरमा बस्दै आएका १३ वर्षीय अन्जान पराजुली आइतबार साँझदेखि बेपत्ता भएका छन् । साथीको बर्थडेमा जान्छु भन्दै निस्किएका उनी अहिलेसम्म नफर्केको र कुनै सम्पर्कमा पनि नरहेको परिवारले जनाएको छ । 

साथीको बर्थडेमा जान्छु भन्दै निस्किएका बालक बेपत्ता

स्थानीय स्टेप वाई स्टेप स्कुलमा ८ कक्षामा अध्ययनरत अन्जान आइतबार साँझ साढे ५ बजेतिर घरबाट निस्किएका थिए । उनले एउटा मोबाइल, ४ हजार नगद, झोला र एकजोर कपडा पनि साथमै लगेका छन् । गहुँगोरो वर्णको, ५ फिट उचाई, निधारमा खत भएको, कालो ज्याकेट, हरियो बुट्टे कमीज, हाफ जिन्स पाईन्ट, कालो सेतो जुत्ता लगाएका छन् ।


अन्जानका बाबु टीकाराम र आमा रीता सिर्जनाचोकस्थित आफ्नै फोटो स्टुडियोमा काम गर्छन् । उक्त दिन पनि अन्जानले मोबाइलमा सम्पर्क गरी साथीको बर्थडेमा जाने भनेका थिए ।


तर पछि बुझ्दा उनका कुनै पनि साथीको बर्थडे नभएपछि परिवारजन थप चिन्तित बनेका हुन । आफन्त मेघनाथ दाहालका अनुसार सोही साँझ ७ बजेतिर अन्जानले लगेको ९८०६७८१२२२ मोबाईलमा दमौलीमा फेसबुक चलाएको पाइएपछि सबैतिर खोजी तीब्र पारिएको छ । पारिवारिक स्रोतका अनुसार एक अपरिचित युवक केही दिनदेखि अन्जानको घर वरपर देखिएका थिए ।


कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बालक हराएको सूचना पाउनसाथ खोजी कार्य सुरु गरिएको र विभिन्न जिल्लामा पनि हुलियासहित जानकारी गराइएको बताए । ‘पोखराबाट भैरहवा जाने गाडी चढेको भन्ने अपुष्ट खबरका आधारमा हामीले सोही अनुसार तत्काल खोजी गरियो,’ उनले भने, ‘नाका र अन्य जिल्लाहरुमा पनि खबर भएको छ । खोजी कार्यलाई तीब्र बनाएका छौं ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयले पनि मातहतका जिल्लालाई खोजी गर्न निर्देशन दिएको छ ।

प्रकाशित : श्रावण ८, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?