कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अधिकांशले राखेनन् विपत् कोष

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिकामा विपत् व्यवस्थापन कोष खडा गरिएको छैन । विपत् व्यवस्थापनका लागि आवश्यक सामग्री पनि खरिद गरिएको छैन । कानुनअनुसार सबै गाउँ र नगरपालिकामा विपत् व्यवस्थापन समिति, कोष र सामग्री खरिद गर्नुपर्ने प्रावधान छ ।

अधिकांशले राखेनन् विपत् कोष


निसीखोलाबाहेक जिल्लाका अधिकांश नगर र गाउँपालिकाले पनि त्यस्तो कोष बनाएका छैनन् । औपचारिक समिति गठन भए पनि स्रोतसाधन दिइएको छैन । विपत् पर्दा उद्धारमा पुग्ने र आवश्यक सामग्री सहयोग गर्ने काममा उनीहरूको तत्परता देखिँदैन । बरु अधिकांश स्थानमा राहत दिन जनप्रतिनिधि आफैं अघि सरेर पुग्ने गरेका छन् ।

वर्षा लागेपछि बाढी र पहिरोले धेरै स्थानमा क्षति पुग्दा राहत दिने भन्दै नगर र गाउँपालिका प्रमुख घटनास्थलमै जान्छन् । ‘विपत्का घटनामा विषयगत समितिलाई क्रियाशील बनाउनुपर्ने हो, भएको छैन,’ बागलुङ नगरपालिकाको विपत् व्यवस्थापन समितिकी संयोजक लक्ष्मी बोहोराले भनिन्, ‘कोष र सामग्रीमा अहिलेसम्म बजेट आएको छैन ।’ नगरपालिकाले तारजाली र पाइपलगायत वितरण गरेर पीडितलाई सहयोग गरे पनि समितिमा जानकारी नभएको उनले बताइन् ।

निसीखोला गाउँपालिकाले भने समिति, कोष र सामग्रीसमेत राखेको अध्यक्ष तारानाथ पौडेलले बताए । ‘पोहोरको पहिरोको घटनाबाटै हामीले सिकेका छौं । त्यसैले हरेक वर्ष कोष र सामग्रीमा लगानी गरेका छौं,’ उनले भने । जिल्लामा रहेको भूसंरक्षण कार्यालय खारेजीमा परेपछि ती समितिको बढी आवश्यकता देखिएको उनले बताए ।

बरेङ र काठेखोला गाउँपालिका तथा गलकोट नगरपालिकामा असारमा भएका घटनामा समिति र कोष नहुँदा जिल्लामा गुहार मागिएको थियो । असारका पहिरोका घटनामा चार जनाको मृत्यु भयो । दर्जनौं घर पुरिएका थिए भने चारवटा झोलुंगेपुल बाढीले बगाएको थियो । उक्त घटनापछि कोष बनाउन पहल गर्ने गलकोटका नगरप्रमुख भरत शर्मा गैरेले बताए ।


जैमिनी नगरपालिकाले कोष नबनाएकाले सडकमा खसेको पहिरो पन्छाउनसमेत सकेको छैन । आवतजावतमा सास्ती भोगेका यात्रीले गुनासो गर्दा कोषको महसुस भएको जनप्रतिनिधि बताउँछन् ।


प्रकाशित : श्रावण २, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?