१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तातोपानी कुण्ड संरक्षण

लमजुङ — हिमाली जिल्ला मनाङको चामेस्थित तातोपानी कुण्डलाई संरक्षण गरिएको छ । यसअघि मस्र्याङ्दी किनारमा खोलाले बगाएर बगरमा परिणत कुण्डलाई चामे गाउँपालिकाको सहयोगमा संरक्षण गरिएको हो ।

तातोपानी कुण्ड संरक्षण

तातोपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष मेलिना गुरुङका अनुसार २६ लाख रुपैयाँको लागतमा तातोपानीको नयाँ संरचना निर्माण गरिएको हो । उपभोक्ताको १० प्रतिशत श्रमदान छ । उनका अनुसार चामे गाउँपालिकाको २४ लाख र स्थानीयको २ लाख बराबरको श्रमदानमा उक्त तातोपानीको संरचना निर्माणमा गरिएको छ । एउटा पोखरीलाई २ वटा बनाइएको छ ।

मस्र्याङ्दीको कटानबाट जोगाउन ग्याबिन पर्खाल लगाइएको छ । तातोपानीमा नुहाउन आउनेका लागि कपडा चेन्जिङ रुम र पोखरी पुग्ने सिँढी बनाइएका छन् । ‘पहिलेको तातोपानी भन्नुको मात्रै थियो । अहिले राम्रो बनेको छ’ उनले भनिन्, ‘पर्यटक खुसी भएका छन् ।’

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले पर्यटकलाई मध्यनजर राखेर तातोपानी कुण्डको संरचना निर्माण गरिएको बताए । उनका अनुसार समुद्री सतहदेखि २ हजार ६ सय ५० मिटर उचाइको चामेमा हिउँदयाममा निकै चिसो हुन्छ । बर्खायाममा समेत मौसम चिसो हुन्छ । तातोपानीमा नुहाउन पाएपछि पर्यटक रमाउने गर्छन् । ‘चामेभन्दा माथि तातोपानी छैन । त्यसैले हामीले यहींको तातोपानी व्यवस्थित गरेका हौं,’ उनले भने । चिसो ठाउँमा प्राकृतिक तातोपानीले स्थानीयलाई आनन्द तुल्याएको चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए । ‘तातोपानीले यहाँको पर्यटन क्षेत्रको प्रबद्र्धनलाई टेवा पुग्ने भएकाले बजेट विनियोजन गर्‍यौं,’ उनले भने । तातोपानीमा नुहाउनाले बाथ, हाडजोर्नी तथा छालासम्बन्धी दाद, घाउ, खटिरा, चायाँ, मुसा, डन्डिफोरलगायत रोगहरू निको हुने विश्वासले पनि नुहाउने गरिन्छ ।

प्रकाशित : असार ३२, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?