२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

स्याङजामा अधिकांश सडक अवरुद्ध 

प्रतिक्षा काफ्ले

स्याङजा — केही दिनयताकाे नियमित बर्षाका कारण जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । बर्षासंगै निरन्तर बगिरहने पहिरोका कारण सडक अवरुद्ध भएका हुन ।

स्याङजामा अधिकांश सडक अवरुद्ध 

फेदीखोला गाउँ र पुतलीबजार नगरपालिकाको संगमस्थलमा रहेको पर्यटकीय क्षेत्र नुवाकोट पुग्ने सडक खण्डपनि पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएको छ ।

फेदीखोला हुँदै जाने उक्त सडक अवरुद्ध भएपछि गाउँ कार्यपालिकाले डोजर लगाएर पहिरो हटाउन लागेको फेदीखोलाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । यस्तै विरुवा गाउँपालिका जाने राङखोला विरुवा सडक खण्ड पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरीका अनुसार अर्जुनचौपारी गाउँपालिका जाने हेलु–अर्जुनचौपारी सडक पहिरो खसेर अवरुद्ध भएको हो । उक्त सडकका तीन स्थानमा खसेकाे पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

ग्रामीण पर्यटकीय क्षेत्र सिरुवारी जाने सेतीदोभान–निउवाबोट, हुँदै सिरुवारी सडक खण्डको विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध भएको स्थानीय शिव लामिछानेले बताए । लामिछानेका अनुसार सडक माथिबाट आएको पहिरोसंगै सडक खण्ड भाँसिएर बगेको छ । केही दिन अगाडि मात्र गरिएको कालोपत्रेसहित सडक भाँसिएको उनले बताए । यो सडकमा यातायात ठप्प भएकाे उनले बताए ।

सिदार्थ राजमार्गको स्याङजा सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरोका कारण यात्रुलाई समस्या भएकाे छ । राजमार्गमा गएको पहिरो डोजर लगाएर हटाएपनि विभिन्न स्थानमा एकतर्फी मात्र सवारी साधन संचालन हुन सकेका छन् । राजमार्ग फराकिलो बनाउने बाहानामा विभिन्न स्थानीय तहले खनेका डाँडाकाँडाका कारण पहिरो खस्ने गरेको स्थानीय बताउँछन् । डाँडा काट्ने क्रममा डोजरले जथाभावी काटिदिने, ढिस्को छाडिदिने गरेपछि उक्त ठाउँबाट पहिरो जाने, ढुँगा खस्ने जस्ता जोखिम बढेको स्थानीय मोहन बस्याल बताउँछन् ।

गाँउ जाेड्ने सडक लापारबाही तरिकाले मापदण्ड विपरीत खनिएका पनि पहिरोको जोखिम बढाएको निमित्त प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । ‘सिद्धार्थ राजमार्ग निकै जोखिमयुक्त राजमार्ग बन्यो,’ उनले भने, ‘इन्जिनियरिङ मापदण्ड विपरीत उपभोक्ता समितिले खनेका सडकले जोखिम निम्त्याएको छ । सडक चक्लाउने बाहानामा खनिएका भीरहरुपनि पहिरोको जोखिममा छन‍् ।’

स्थानीय तहमा सडक निर्माण प्रतिस्पर्धात्मक रुपमा खनिएपछि पहिरोको जोखिमपनि उत्तिकै बढेको नागरिक समाजका अगुवाहरु बताउँछन् ।

प्रकाशित : असार १२, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?