कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

विद्युत् ट्रान्सफर्मरको तार चोरी गर्ने गिरोहका १० जना पक्राउ

श्रावण २७, २०८१

काभ्रे — विद्युत् ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने गिरोहका १० जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाका २४ वर्षीय प्रेम मिजार, २४ वर्षीय जगन्नाथ बस्नेत, २७ वर्षीय सुनिल ढकाल, २१ वर्षीय प्रविण बस्नेत, ३० वर्षीय दिकुल खत्री, २२ वर्षीय प्रल्लाद बस्नेत, सिन्धुपाल्चोकका २८ वर्षीय कुमार विक, ४२ वर्षीय राजेश विक, २२ वर्षीय सन्तोष विक र काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की रहेका छन् ।

उनीहरुले जिल्लाका विभिन्न स्थानमा रहेका ट्रान्सफर्मर निकालेर त्यसभित्रको तामाको तार चोरी गर्ने तथा खरिद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुले चोरीका सामानहरु बा १ व ७८३४ नं. को माइक्रो भ्यानमार्फत् भक्तपुरका विभिन्न कबाडी पसलमा लगेर बेच्ने गरेको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उक्त भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेको भुम्लुदेखि नमोबुद्ध नगरपालिकासम्म विभिन्न स्थानमा रहेका ६ वटा ट्रान्सफर्मर डेढ महिनाको अवधिमा निकालेर त्यसको तार चोरी भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । गिरोहले खानेपानी र सिँचाईका लागि विद्युत् प्रवाह गर्न प्रयोग गरिने ट्रान्सफर्मरलाई आफ्नो निशाना बनाउने गरेका थिए ।

प्रकाशित : श्रावण २७, २०८१ १८:५५
×