कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

वाग्मतीमा लम्पी स्किनविरुद्ध खोप अभियान सुरु

श्रावण २६, २०८१
वाग्मतीमा लम्पी स्किनविरुद्ध खोप अभियान सुरु

Highlights

  • प्रदेशका ७६ हजारभन्दा बढी गाई–भैंसीलाई खोप दिइने

हेटौंडा — वाग्मती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा गाई–भैंसीमा लाग्ने लम्पी स्किनविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किनको संक्रमण हुन नदिन साउन २५ देखि ३१ सम्म सप्ताहव्यापी खोप अभियान सुरु गरेको हो ।

शुक्रबार एक समारोहका बीच मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित एक गाई फार्ममा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पशु स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् । अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ७६ हजार २ सय ७५ गाई–भैंसीमा लम्पी स्किनविरुद्धको खोप लगाउने लक्ष्य मन्त्रालयको रहेको छ ।

गाईभैंसीमा लम्पी स्किन लाग्न नदिन पूर्वतयारीस्वरूप प्रदेशका सबै स्थानीय तहमा प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गर्न लागेको मन्त्री श्रेष्ठले बताए । नागरिकलाई सरकारको अनुभूति दिलाउने र आर्थिक रूपले सक्षम बनाउने पहलस्वरूप प्रदेश सरकारले अभियान अघि बढाएको उनको भनाइ थियो ।

मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालयमार्फत खोप अभियान सञ्चालन गरिएको जानकारी दिए ।

लम्पी स्किन नियन्त्रणका लागि प्रदेश सरकारले यस आर्थिक वर्षमा ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । लम्पी स्किन रोगबाट गाई–भैंसीको मृत्युदर ३ दशमलव १ प्रतिशत रहे पनि दुध उत्पादनमा ८० प्रतिशतसम्म घट्ने भएकाले यो अभियान संचालन गरिएको सचिव भट्टराईले बताए । ‘लम्पी स्किनविरुद्ध ६२ हजार ९ सय ७५ डोज खोप लगाउने तयारी छ,’ उनले भने, ‘उक्त खोप लगाउन प्रदेशका १३ जिल्लामा ३ सय ७६ जना भ्याक्सिनेटर खटाइएको छ ।’

मन्त्रालयका अनुसार गत आवमा यस रोगबाट प्रदेशमा ११ हजार २ सय १८ गाई–भैंसी मरेका थिए । ३७ हजार ८९ गाई–भैंसी संक्रमित भएका थिए भने २ लाख ५६ हजार ७ सय ५९ पशु प्रभावित बने । गत आवमा २ लाख ४५ हजार २ सय २२ गाई–भैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको थियो ।

प्रकाशित : श्रावण २६, २०८१ १६:२४
×