कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेलसँग कांग्रेसको आग्रह

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सहमतिको सरकार गठन गर्न मार्गप्रशस्त गरिदिन आग्रह गरेको छ ।

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेलसँग कांग्रेसको आग्रह

बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले विज्ञप्ति जारी गर्दै मुलुकमा राजनीति स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न संघ र सातै प्रदेशमा सहमतीय सरकार गठन हुने प्रक्रियामा रहेका कारण मुख्यमन्त्रीले सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गर्न अनुरोध गरेका हुन् ।

‘वर्तमान मुख्यमन्त्रीको नेतृत्वमा गठन भएको प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा बुझाइ विश्वासको मत फिर्ता लिइसकेको पृष्ठभूमिमा वर्तमान सरकार प्रस्ट रूपमा अल्पमतमा परी कामचलाउ सरकारको हैसियतमा पुगिसकेको स्थिति छ,’ उनले भनेका छन् ।

विज्ञप्तिमा हालको अवस्थामा सरकारलाई कुनै पनि महत्त्वपूर्ण निर्णय वा नियुक्ति नगर्न समेत आग्रह गरिएको छ । ‘अल्पमतमा परेको सरकारले कुनै पनि नियुक्ति वा निर्णय गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकाले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट गम्भीर ध्यानाकर्षण गराउँछौं,' नेता लामाले भने ।

एमाले र कांग्रेसको अब बन्ने नयाँ राजनीतिक समीकरण जनअपेक्षित भएको कांग्रेस संसदीय दलको दाबी छ । माओवादी केन्द्रका नेता जम्मकट्टेल नेतृत्वको सरकारले विभिन्न राजनीतिक नियुक्ति गर्न थालेपछि एमाले र कांग्रेस रुष्ट भइरहेका छन् । एमालेले पनि यसअघि विज्ञप्ति नै जारी गरी दीर्घकालीन असर पार्ने निर्णय नगर्न सरकारलाई आग्रह गरिसकेको छ ।

प्रकाशित : असार २७, २०८१ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×