कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

वाग्मतीमा आजबाट बजेटमाथि छलफल प्रारम्भ हुँदै

मकवानपुर — आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्न वाग्मती प्रदेशसभाको बैठक बिहीबार बस्दैछ । हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बिहान ११ बजेका लागि प्रदेशसभा बैठक डाकिएको छ । 

वाग्मतीमा आजबाट बजेटमाथि छलफल प्रारम्भ हुँदै

बैठकमा प्रदेश सरकारको आगामी आवको बजेटमाथिको छलफल सुरु हुने जनाइएको छ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेटमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् भने सो प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार बैठकमा सांसदहरूले सरकारको आय व्यय र राजस्व संकलनको अनुमान (बजेट) माथि छलफल गर्ने कार्यसूची मात्र रहेको छ । सरकारले असार १ गते प्रदेशसभा बैठकमा आगामी आवका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट पेस गरेको थियो ।

बजेटको विषयमा सत्तापक्षबीच नै मतभेद भइरहेको अवस्थामा सदनमा छलफल हुन लागेको हो । सरकारले आम्दानी र खर्चलाई पूर्ण रूपमा बेवास्ता गरेर ‘अस्वभाविक’ बजेट ल्याएको आरोप प्रतिपक्षले लगाउँदै आएका छन् ।

प्रदेश सरकारले चालु आवको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट सदनमा पेस भएको हो । सरकारले आगामी आवका लागि कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : असार ६, २०८१ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×