कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

पहुँच मार्ग नबन्दा झोलुङ्गे पुल प्रयोगविहीन

चितवन — त्रिवेणीमा नारायणी नदीमाथि बनेको झोलुङ्गे पुल जोड्ने पैदल मार्ग बनाउन नेपाली भुमि बालमिकी आश्रम वरपरको चितवन निकुञ्जभित्र उपकरण (जेसिबी) लैजान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

पहुँच मार्ग नबन्दा झोलुङ्गे पुल प्रयोगविहीन

तर भारतीय पक्षले जेसिबी लैजाने विषयमा अन्तर्राष्ट्रिय सीमा भएका कारण सुरक्षा दृष्टिकोणले भारत सरकारबाट अनुमति लिएको छ या छैन भनेर सोधेपछि काम सुरु हुन सकेको छैन ।

निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसार असार २० भित्र काम सकिनुपर्ने हुन्छ । नवलपरासी त्रिवेणी आडको नारायणी नदीमा शिलान्यास भएको नौ वर्षपछि बल्ल दुई वर्षअघि झोलुङ्गे पुल बनेको थियो । तर पुलको मुखदेखि आश्रमसम्म करिब तीन किलो मिटर पहुँच मार्ग नबन्दा पुल प्रयोगमा नै आएको छैन । पहुँच मार्गका लागि बागमती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

चितवन निकुञ्जले गएको बैशाख २५ गते मार्ग बनाउन निर्माण कम्पनी सुस्ताको ओम निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । सम्झौता लगत्तै वैशाख २६ गते चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुन पुर्जा मगरले निर्माण कम्पनीलाई कार्यादेशसमेत दिएका थिए ।

‘निर्माण सम्झौतामा काम गर्न जेसिबी मेशिन प्रयोग गर्ने भन्ने छ । जेसिबी ल्याउन भारतीय बाटो प्रयोग गर्नु पर्दछ । बाटो प्रयोगका सम्बन्धमा भारतीय पक्षले केन्द्रीय सरकारको स्वीकृति छ या छैन भनेर सरोकार राखेको पाइयो’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुन पुर्जाले भने । यो विषयमा नेपालको परराष्ट्रय मन्त्रालयले नेपाल स्थीत भारतीय राजदूतावासलाई पत्रचारसमेत गरेको छ ।

‘हिजो सोमबार मात्रै हामी भारत बिहार राज्यका पर्यावरण, वन तथा जलवायु मन्त्री डा.प्रेमकुमारलाई त्रिवेणी पारीको भारतीय ठाउँ वाल्मिकी नगरमा भेट्यौं । उहाँले दूतावासबाट पनि सोधखोज भएको बताउनुभयो । तर जेसिबी लैजाने बारेमा निर्णय दिनु भएन । बरु मान्छे नै लगाएर काम गर्नु न भन्नुभयो,’ निर्माण कम्पनीका सञ्चालक ओमप्रसाद न्यौपानेले भने । सुस्ताको ओम निर्माण सेवाले पदमार्ग निर्माणको ठेक्का पाएको छ ।

राजनैतिक सिमानाका हिसाबले वाल्मिकी आश्रम चितवन माडी नगरपालिका–१ मा पर्दछ । तर यहाँ चितवन हुँदै जान सकिदैन । निकुञ्जको पश्चिमी सिमानाको आडमा भएको आश्रम भारत नेपाल सिमाना नजिकै पनि छ । आश्रम पुग्न नेपालको हैन कि भारत कै बाटो प्रयोग गर्नु पर्ने बाध्यात छ । त्रिवेणीबाट गण्डक नहर तरेर भारतीय सिमाभित्रको वाल्मिकी टाइगर रिजर्भको सात किलो मिटर वन क्षेत्र काटेर आश्रम पुगिन्छ ।

यही बाध्यता हटाउन नेपालकै बाटो हुँदै आश्रम पुग्न केही सहज होस् भनेर झोलुङ्गे पुल तयार भएको हो । पहुँच मार्ग बनाउन वाल्मिकी टाइगर रिजर्भको बाटो हुँदै मेशिन लैजाने विषयमा चासो राख्दै ‘वाल्मीकिनगर वन प्रक्षेत्र’ अन्तर्गत जटाशंकर ‘चेक नाका’बाट जेसिबी लैजाने विषयमा मे ३१ अर्थात् जेठ १८ मा वन अधिकारीले पत्र नै काटेका थिए ।

‘वाल्मीकिनगर प्रक्षेत्र’का वन क्षेत्र पदाधिकारी विश्वासभाजनले त्रिवेणी रेञ्ज पोष्टलाई हिन्दी भाषामा लेखेको पत्रमा वाल्मिकी टाइगर रिजर्भको बाटो हुँदै जाने जेसिबीले कति दिन काम गर्दछ, अन्तर्राष्ट्रिय सीमा भएका कारणले सुरक्षा दृष्टिकोणको हिसाबले भारतसँग अनुमति लिएको छ या छैन, जेसिबी जाँदा आउँदा वाल्मिकी टाइगर रिजर्भको वनपथमा असर पर्दछ या पर्दैन, परे कसरी भरपाइ हुन्छ भनेर सोधिएको छ ।

त्यसपछि जुन २ अर्थात् जेठ २१ मा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुन पुर्जाले वाल्मिकी टाइगर रिजर्भका डिएफओलाई सम्बोधन गर्दै अंग्रेजी भाषामा पत्र लेखेका छन् । पत्रमा त्रिवेणी झोलुङ्गे पुलदेखि आश्रमसम्म पैदल मार्ग र आश्रममा गार्ड पोष्ट बनाउन जेसिबी आवश्यक भएको, जेसिबीमा अप्रेटर र हेल्पर दुईजना मात्रै हुने र नेपाल तर्फ मात्रै २० दिनसम्म काम गर्ने उल्लेख छ ।

पत्रमा भारतको वाल्मिकी टाइगर रिजर्ब क्षेत्रमा कुनै पनि हानी नोक्सानी नहुने, प्रतिवद्ध उल्लेख छ । जेसिभीको विषयमा सहयोग माग्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेको भारतीय दूतावासलाईसमेत पत्राचार गरेको छ । जुन सात अर्थात् जेठ २५ मा मन्त्रालयले दूतावासलाई पत्र लेखेको थियो ।

‘१० मिनेटमा पार हुने बाटो छ । तर प्रयोग गर्न यति लामो प्रकृयामा जानु परेको छ । भारत नेपाल सिमा क्षेत्रमा यस्तो त हुन नपर्ने हो । यता हाम्रो बाटो हुँदै गण्डक नहरको काम गर्न भारतीय साधन आउँछन् । हामीले उनीहरुको बाटो हुँदै एउटा साधन लान पाउँदै नपाउने भन्ने त हुन नपर्ने हा जस्तो लाग्छ’ न्यौपानेले भने । भारतीय बाटो हुँदै मेशिन लान नसकिने जानकारी निकुञ्ज कार्यालयलाई गराइ सकेको उनले बताए ।

‘काम गर्ने दिन अब धेरै बाँकी छैन । मेशिन लैजान सकिएन । सम्झौतामा मेशिन ने प्रयोग गरेर काम गर्ने भन्ने रहेका कारण मान्छे लगाएर काम गर्दा भुक्तानीको विषयमा गाह्रो हुने कुरा आयो । अब यस्तो अवस्थामा कसरी काम गर्न सकिएला ? जब कि असार २० सम्म काम सक्नु पर्ने भन्ने छ’ न्यौपानेले भने । नारायणी नदी हुँदै डुंगामा राखेर जेसिबी तार्ने सोच बनाए पनि हाललाई सम्भव नदेखिएको उनले बताए ।

वाल्मिकी आश्रम भारत र नेपाल दुवै देशमा प्रख्यात धार्किम क्षेत्र हो । रामायणमा १४ वर्षको वनबासबाट अयोध्या फर्केपछि ‘भगवान राम’ले सीतालाई त्यागेको र लक्ष्मणले घना वनमा ल्याएर छाडेको प्रसंग छ । गर्भवती सीतालाई लक्ष्मणले त्यसरी छाडेपछि वाल्मिकीले आश्रय दिएको, सीताले लबकुशलाई जन्म दिएको र हुर्केका लव कुशले रामले अश्वमेध यज्ञ गरेर छाडेको घोडा समाएर बाधेको कथा रामायणमा छ ।

रामायणमा वर्णन भएको वाल्मिकी ऋषिको आश्रम यही भएको जन विश्वास छ । रामायणको रचना पनि वाल्मिकी ऋषिले नै गरेका हुन् । वाल्मिकी आश्रमको पुरानो मन्दिरका पुजारी रामशरण गिरी नेपालबाट आउन सुविधा नभएका कारण आश्रम आउनेहरुमा ८० प्रतिशत भारतीय भएको बताउँछन् । नारायणी नदीमा झोलुङ्गे पुल बनाउन निर्माण कम्पनीसँग ७० सालको असारमा सम्झौता भएको थियो ।

दुई वर्षमा काम सक्ने भने पनि पुलको काम ७९ सालको साउनमा मात्रै पुरा भएको हो । चितवन निकुञ्ज विश्व सम्पदा सुचिमा रहेको निकुञ्ज हो । वातावरणीय प्रभाव मुल्याङ्कन नगरी पुल निर्माणको सम्झौता गरेका कारण सुरुमा काम गर्न अफ्ठ्यारो पर्‍यो । युनेस्कोसम्मलाई पत्रचार गरेर सवै प्रक्रिया पूरा भएपछि बल्ल निर्माणको काम अगाडी बढेको थियो । अहिले नदीमा पुल बने पनि पहुँच मार्ग बनाउन अर्को महाभारत भएको छ ।

प्रकाशित : असार ५, २०८१ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×