कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

राष्ट्रिय परिचय पत्र बनाउन गाउँमै पुग्यो टोली

प्रताप विष्ट

हेटौंडा — जिल्ला प्रशासन कार्यालयले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको राष्ट्रिय परिचय पत्र बनाउन राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा टोली खटाएको छ ।  पालिकाको केन्द्र चैनपुरमै परिचय पत्र बनाउन पाउँदा राक्सिराङ गाउँपालिका-४ का ८८ वर्षीय रत्नलाल चेपाङले खुशी व्यक्त गरे । लठ्ठीको साहारामा हिड्ने रत्नलाललाई परिचयपत्र बनाउन कसरी हेटौंडा पुग्ने भन्ने चिन्ता थियो ।

राष्ट्रिय परिचय पत्र बनाउन गाउँमै पुग्यो टोली

बुधबार चैनपुरमा ५४ जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण भरेका छन् । टोलीले पहिलो दिन राक्सिराङ गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता लिने ५४ जनाको परिचयपत्र बनाउने काम गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । ‘सबै बस्तीमा खबर पुगिसकेको छैन, भोलि अझ यो संख्या बढ्छ,’ उनले भने ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयले पहिलो टोली राक्सिराङको केन्द्र चैनपुरमा पठाएको हो । अर्को टोली बिहीबार जिल्लाको सुदूर पूर्वमा पर्ने वाग्मती गाउँपालिकाको केन्द्र झुरझुरेमा पठाउँदै छ ।

उक्त टोली एउटा पालिकाको केन्द्रमा चार दिन बसेर अर्कोमा जानेछ । परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा र अपाङ्गता भएकाहरुको भीड लाग्न थालेपछि प्रशासनले सेवाग्राहीको सहजताका लागि पालिकाको केन्द्रमा परिचय पत्र बनाउने टोली खटाएको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सम्बन्धित पालिकाको समन्वयमा परिचयपत्र बनाउने टोली चार दिनका लागि पालिकाहरुमा खटाइने बताए । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेको भीड बढेको थियो । परिचयपत्र बनाउन दिनभर लाइन लाग्दासमेत पालो नपाएर फर्कनुपरेको सेवाग्राहीको गुनासो थियो ।

नौ वटा पालिकाको केन्द्रमा राष्ट्रिय परिचय पत्रको टोली खटाइएको छ भने हेटौडा उपमहानगरपालिकाभित्रका सामाजिक सुरक्षा भत्ता बुझनेहरुको राष्ट्रिय परिचयपत्र प्रशासन कार्यालयमा नै बन्ने जनाएको छ । उपमहानगरपालिकाका बासिन्दाको परिचयपत्र बनाउन जिल्ला प्रशासनले बिहान ७ बजेदेखि नै कार्यालय संचालनमा ल्याएको छ ।

आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सनको नवीकरण बायोमेट्रिक भेरिफिकेसनमार्फत गर्ने प्रणाली लागू गर्ने निर्णय भइसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले जनाए ।

यसको प्राविधिक परीक्षण पनि भइसकेको छ । अब सामाजिक सुरक्षा भत्ता र पेन्सन लिने ७७ वटै जिल्लाका बासिन्दाले बर्सेनि नवीकरण गर्न सम्बन्धित वडा वा पालिकामा नगई आफूलाई सुविधा पुग्ने स्थानबाट गर्न सक्ने व्यवस्था साउनदेखि नै लागू हुनेछ । यस्तो व्यवस्थाले सामाजिक सुरक्षा भत्ता र पेन्सन दोहोरो सुविधा लिन सक्ने सम्भावनालाई बन्देज लगाउनेछ ।

अहिले देशभर ३८ लाख ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । पेन्सनबापत भने बर्सेनि करिब ७७ अर्ब खर्च हुने गरेको परिचयपत्र विभाागले जनाएको छ । परिचयपत्र अनिवार्य गरेपछि एउटै व्यक्तिले दोहोरो सुविधा लिन खोजे प्रणालीले नै रोक्ने सफ्टवेयर निर्माण गरिएको छ ।

पेन्सन र सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकका लागि पनि परिचयपत्रले सजिलो बनाउने विभागको उद्देश्य छ । कुनै पनि नागरिकले राष्ट्रिय परिचयपत्र साथमा बोकेपछि अन्य सबै परिचयपत्र नचाहिने व्यवस्था गर्न लागिएको कट्टेलको भनाइ छ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×