कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

कार्यान्वयन भएनन् पशु ढुवानीका मापदण्ड

चितवन — पशु ढुवानीका लागि ११ बुँदे मापदण्ड तयार भएको १७ वर्ष हुँदैछ । यो मापदण्ड व्यवहारमा अपनाइको भए ट्रकमा कोच्चिएका राँगाभैंसीको सकस देखिने थिएन । सरकारले २०६४ मा जारी गरेको ११ बुँदे मापदण्ड कागजमै सीमित हुँदा क्रुर तरिकाले पशु ढुवानी भइरहेको सरोकारवालाको भनाइ छ ।

कार्यान्वयन भएनन् पशु ढुवानीका मापदण्ड

यसबारे शुक्रबार सारेकारवालाले भरतपुरमा विरोध प्रदर्शन आयोजना गर्दैछन् । ‘२०६४ मा तयार भएको मापदण्ड व्यवहारमा लागु हुन सकेको छैन । कि मापदण्ड लागु गर नभए पशु ढुवानी नै बन्द गर भन्ने हाम्रो माग रहनेछ,’ एनिमल नेपाल नामक संस्थाका चितवन फिल्ड कार्यालयका संयोजक रामचन्द्र आचार्यले भने ।

आठ वर्षयता हरेक वर्ष जून १४ मा विश्वव्यापी रुपमा क्रुर र निर्दयी तरिकाले हुने पशु ढुवानीविरुद्ध दिवस मनाउने गरिन्छ । चितवनमा पशु अधिकार र कल्याणका क्षेत्रमा कार्यरत विभिन्न संस्थाले संयुक्त रुपमा प्रदर्शन गर्ने आचार्यले बताए । २०५५ को पशु सेवा ऐन र २०५६ मा जारी भएको नियमावली अनुसार २०६४ मा ११ बुँदे पशु ढुवानी मापदण्ड जारी गरेको हो ।

मापदण्ड अनुसार पशु ढुवानी गर्ने हरेक गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । त्यसैगरी शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न पाइदैन । राँगाभैसीसँग पाडापाडी मिसाउन हुँदैन । सबै राँगाभैंसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालक तर्फ फर्केको हुनुपर्छ ।

नाक र पुच्छर पनि बाँध्न पाइदैन । राँगा, भैसी, बोका खसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नु पर्छ । पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनु पर्छ । पशुलाई गाडीभित्र शून्य दशमलब ८४ देखि एक दशमलब २७ वर्गमिटर स्थान उपलब्ध हुनु पर्छ । यसो गर्दा एउटा ट्रकमा २० वटा जति पशु अटाउँछन् । पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन पाइदैन । गाडीमा घाँस पराल र दाना राखेको हुनु पर्छ । आठ घण्टा गाडीमा हिँडाएपछि ओरालेर दाना पानी खुवाउनु पर्छ ।

मापदण्ड अनुसार पशु ढुवानी गर्दा गाडीको रफ्तार प्रति घण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनु पर्छ । झ्याप्प झ्याप्प ब्रेक लगाउन र उफार्न पनि पाइदैन । ‘तर यी मापदण्ड पालना भएको पाइदैन,’ आचार्यले भने । उनले चितवनमा संस्थाले राँगाभैसी ढुवानीमा हुने क्रुरता रोक्न काम गर्दै आएको बताए । राँगाभैसी कसरी ढुवानी भएको छ भनेर अनुगमनमा जाँदा सरकारी निकायले समेत राम्रो नमान्ने गरेको उनले बताए ।

‘चितवन रामनगरमा पशु क्वरोन्टाइन चेकपोष्ट छ । कर्मचारीले आफ्नो काम गरिरहेका हुन्छन् । उनीहरुले गर्ने कुनै गतिविधिमा असर नपर्ने गरेर हामीले अनुमगन गरौं न त भनेर बस्दा पनि काममा बाध हाले भनेर प्रहरीलाई बोलाउने गर्छन्,’ आचार्यले भने ।

कोचाकोच गरेर ट्रकमा राँगा राख्ने, सबैले देख्ने गरेर पुच्छर बाँध्ने प्रवृत्ति पछिल्ला वर्षमा केही कम भए पनि मापदण्ड पालनामा कसैले वास्ता नगरेको उनले बताए । ‘प्रथामिक उपचार सामग्री बक्स त त्यत्ति ठूलो महङ्गो पर्दैन नि, त्यत्ति त राख्दैनन् । आठ १० जनालाई हामीले नै किनेर राख्न दियौं, अरुले राख्दै राख्दैनन् । अन्य मापदण्ड पालना झन् कस्तो होला ? अन्दाज लगाउन सक्छौं,’ अचार्यले भने ।

मुलुकी ऐन अपराध संहिताको दफा २९० मा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने र त्यसो गरे तीन महिनासम्म कैद या पाँच हजार रुपैयाँ जरिवाना वा कैद र जरिवना दुवै हुने व्यवस्था छ । ‘तर न मापदण्ड पालना हुन्छ न कारवाही भएको सुनिन्छ,’ आचार्यले भने । एनिमल नेपालकै फिल्ड सुपरभाइजर दिपा केसीले बारा, पर्सा, लुम्बिनी र कैलालीदेखि चितवन हुँदै दैनिक ३० गाडीसम्म राँगाभैसी काठमाडौं जाने गरेको बताइन् ।

‘ढुवानी गर्दा मात्रै हैन किनबेच स्थलमा ल्याउँदा पनि दिनभर हिँडाएर बिना दाना पानी ल्याएर बेचिन्छ र बेचेपछि काठमाडौंसम्म पुर्‍याउँदा झनै क्रुरता अपनाइन्छ,’ केसीले भनिन् । उपभोक्ता अधिकारकर्मी शैलेनद्र श्रेष्ठले पशुपन्छीको विषय मान्छेको स्वास्थ्यसँग पनि जोडिएको बताए ।

‘मासु उत्पादनमा ओसारपसार हुने पशुलाई मापदण्ड अनुसार कै व्यवहार गर्नु पर्छ । मापदण्ड पूरा नगर्दा मासु स्वस्थ्यकर हुँदैन । यसको असर मान्छेमा नै पर्ने हो । त्यसैले पशु कल्याणको विषय मान्छेसँग पनि प्रतक्ष्य सरोकार राख्ने विषय हो,’ श्रेष्ठले भने ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×