२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

जोखिमपूर्ण भवनमा गौरीशंकर बालगृह

दोलखा — भूकम्पले चिराचिरा परेको जोखिमपूर्ण भवनमा डरैडरमा रात बित्छ, भवन पुनर्निमाणमा कतैबाट चासो दिइएको छैन । भूकम्पले चिरा परेको भवनभित्र अँध्यारो कोठा, चिसो भुईंमा कुनै कार्पेट पनि छैन्  । यस्तै कोठामा रात काट्छन् गौरीशंकर बालगृहका बालकहरु ।

जोखिमपूर्ण भवनमा गौरीशंकर बालगृह

बिहानै उठ्यो विद्यालय पोषक लगायो । लामबद्ध बसेर पालो पर्खदै खाना खाएर ४५ मिनेटको आरोलो झरेर विद्यालय पुग्छन् । २०५३ सालमा नेदरल्याण्डस् सरकारले जोखिममा परेका बालबालिकाको लालनपोषण र शिक्षाका लागि यो बालगृह बनाइदिएको थियो ।

२९ रोपनी क्षेत्रमा फैलिएको बालगृहका ५ वटा भवन २०७२ सालको भूकम्पले जीर्ण बनाएको छ । भूकम्पले यी भवनहरु चिराचिरा परेका छन् । भवनका छतबाट पानी चुहिएर बालकहरु रातभर अनिदै बस्छन् । बालगृहमा हाल हुम्ला, कालिकोट, रोल्पा, दोलखा लगायतका जिल्लाका ५ देखि १७ बर्ष उमेरका बालकहरु रहेका छन् । ओढ्ने ओछ्याउनेको अभावमा चिसो भुँईंमै रात काट्छन् ।

फलामबाट बनाइएका खाटहरुमा ओढ्ने ओछ्याउनेबिनै पल्टिएर रात काट्नुपर्ने अवस्था रहेको हुम्लाका सन्तोष बोहोराले बताए । ‘ढलान चुहिएर पानी झर्छ रातभरि, चिसो भुँईमा ओछ्याउने केही छैन,’ उनले भने, ‘झ्याल समेत नभएका कारण थप सकसमा रात काटनुपर्छ, कुन दिन छत खस्छ थाहा छैन ।’

भूकम्पले जीर्ण बनेका भवनको प्रवलीकरण समेत हुन सकेको छैन । रंगरोगन समेत गरिएको छैन । ‘खानपानमा खासै समस्या छैन्, तर जोखिमपूर्ण भवनमा बस्दा डरैडरमा रात बितेको पत्तो हुँदैन,’ उनले भने, ‘अलि ठुला भएकाहरु जसोतसो सहेर बस्छौँ, साना भाइहरुको त बिजोग छ, बेलाबेलामा चिसोले बिरामी हुन्छन् ।’

वर्षा भएको दिन पानी चुहिएर हैरान हुने गरेको उनले बताए । झ्याल समेत नभएका कारण लामखुट्टेले टोकेर रातभर सुत्न कठिन भएको उनले सुनाए । कुनै समय देशकै ठुला र नमूना थियो यो बालगृह । तत्कालीन समयमा बालगृहमा १ सय ५० भन्दा बढी बालबालिका आश्रित थिए ।

नेपाल बाल संगठनले जिम्मा लिएपछि बालगृह अवस्था दयनीय बनेको छ । कतै तारबार छैन, सबै लथालिङग छ । कम्पाउड नभएका कारण बालगृहलाई दाताले दिएका सामाग्री र खाद्यन्न चोरी हुने गरेको छ । बालकहरुलाई भित्र आएर धम्क्याउने र उनीहरुलाई कसैले सहयोग दिएका समाग्री समेत खोसिने गरेको गुनासो बालकहरुले गरेका छन् ।

बालगृहमा खेलकुद र शैक्षिक सामाग्रीसमेत छैन । एउटा कोठामा सानो टिभी छ । त्यो पनि चिसो भुँईमा बसेर हनुपर्ने बाध्यता छ । बिहान ८ बजेतिरै विद्यालय हिडेका बालकहरु साँझ ६ बजे थकान बोकेर बालगृह आईपुग्छन् । बालगृहबाट विद्यालय पुग्न ४५ मिनेट र आउन कम्तिमा एक घण्टा लाग्छ ।

'वर्षाको मौषममा ओतसमेत अभावमा झरिमा रुझदै विद्यालय जाने गरेको दोलखाका अस्मित ढुङगेल बताउँछन् । विद्यालय जाने वेलामा पानी पर्‍यो भने भिजेरै जानुपर्छ छातासमेत छैन्,’ उनले भने, ‘विद्यालयबाट फर्कदा ठुला पानी पर्‍यो भने उतै किताब राखेर भिज्दै आउने गरेका छौं ।’

भिजेको लुगा फेर्नका अर्को पोषक समेत नभएको उनले बताए । बालकहरुका लागि भनेर बनाईएका अध्यापन, मनोरञ्जन, पोषक कोठाहरु लथालिङ्ग छ । यहाँ भएका संरचना अहिले छैनन् । जोखिममा परेका बालकहरु देशभरबाट यहाँ आउने गरेका छन् । कोही बिरामी परे उपचार गर्ने खर्च समेत सरकारले पठाउने गरेको छैन ।

भूकम्पले जोखिम बनेका भवनमा जोखिम बालकहरुलाई राख्नुपर्ने बाध्यता रहेको नेपाल बाल संगठन दोलखाका अध्यक्ष रामप्रसाद सापकोटाले बताए। भूकम्पका पराकम्प अझै गैरहेको छ, भवन भत्किन्छ कि भनेर चौरमा लाने गरेका छौं,’ उनले भने, ‘रातमा पराकम्प आए झन अनिदै रातर चौरमा बस्छौं ।’ बालकहरुको खानपानमा खासै समस्या नरहेको उनले बताए ।

भएका सबै भवन भूकम्पले चिराचिरा परेर चुहिने र भत्कने अवस्थामा रहेको उनले बताए । भूकम्पपछि १०/१५ जना विद्यार्थी भएका विद्यालयका भवनसमेत चिट्क्क परेका बने,’ उनले भने, ‘जोखिममा परेका यस्ता असाहय बालकहरुको आश्रयस्थललाई चिरा परेकै भवनमा जोखिममा राज्यले राखेको छ ।’

कनै दिन ठुला दुर्घटना भएमा यसको जिम्मेवारी कसले लिन हो उनले प्रश्न गरे । भवन पुनर्निमाण गरिदिन धेरै निकायसँग आग्रह गरेपनि कतैबाट पहल नभएको उनले गुनासो गरे । ‘जोखिममा परेर अभिभावकविहीन र सडकबाट उठाइएका देशभरका बालक यहाँ राखिएको छ,’ ‘तर भत्कन लागेका यी भवनमा जोखिम मोलर राख्नु पर्ने बाध्यता छ ।’ बालगृहका पुराना संरचना र सम्पती कता हराए भनेर खोजी हुनपर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ १६, २०८१ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?