३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

चितवन निकुञ्जमा साउनयता पर्यटनबाट २६ करोड आम्दानी

चितवन — चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म चितवन राष्ट्रिय निकुञ्जले पर्यटन मार्फत २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ राजश्व आम्दानी गरेको छ । चितवन निकुञ्ज दुर्लभ वन्यजन्तु ठूलो एकसिंगे गैंडा, पाटो बाघ, घडियाल गोहीलगायतका जीवजन्तुको नेपालमा मुख्य बासस्थल हो । नेपालको पहिलो निकुञ्ज चितवन निकुञ्ज वन्यजन्तु पर्यटनको मुख्य गन्तब्य समेत हो ।

चितवन निकुञ्जमा साउनयता पर्यटनबाट २६ करोड आम्दानी

चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको १० महिनामा एक लाख ६१ हजार ८२७ स्वदेशी, सार्क राष्ट्रका २६ हजार ४६१ र ८४ हजार ६५४ विदेशी गरी कुल दुई लाख ७२ हजार ९४२ जनाले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन् । पर्यटक प्रवेश शुल्कबाट मात्रै २२ करोड ४३ हजार ५० रुपैयाँ राजश्व आम्दानी भएको संरक्षण अधिकृत तिवारीले जानकारी दिए ।

निकुञ्ज आउने पर्यटकले अनुभवी पथ प्रर्दशक (नेचर गाइड)को सहयोगमा पैदलै जंगल घुम्ने, मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी गर्ने, निकुञ्ज या मध्यवर्ती वनमा जीप सफारी गर्ने, निकुञ्ज हुँदै बग्ने खोला र नदीहरूमा डुंगा सफारी गर्छन् । ‘यी सवैखाले गतिविधि खास गरेर जीप सफारीबाट पनि राजश्ज आम्दानी हुन्छ । चालु आर्थिक वर्षमा निकुञ्जले पर्या–पर्यटनबाट गरेको आम्दानी २६ करोड नाघि सकेको छ,’ तिवारीले भने ।

निकुञ्जले विभिन्न पाँच शीर्षकमा राजश्व संकलन गर्छ । चालु आर्थिक वर्षको १० महिनामा ३१ करोड ५७ लाख १३ हजार १७१ रुपैयाँ राजश्व आम्दानी भएको सूचना अधिकारी तिवारीले बताए । जसमध्ये पर्या–पर्यटनबाट हुने राजश्व आम्दानीको हिस्सा अरु शीर्षकको भन्दा धेरै नै बढी हो । कोरोनाका कारण शिथिल हुँदै गएको पर्यटन व्यवसायमा सुधार हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

पछिल्ला वर्षमा विदेशी पर्यटकभन्दा स्वदेशीको संख्यामा उल्लेख्य सुधार भएको देखिन्छ । कोरोनाअघि चितवन निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको वार्षिक संख्या सवा लाखभन्दा बढी हुन्थ्यो । त्यसैले विदेशी पर्यटकको संख्यामा अझै पनि उल्लेख्य सुधार नदेखिएको पर्यटन व्यवसायीहरू बताउँछन् । पर्यटन व्यवसायी दीपक भट्टराई विदेशी पर्यटकमा अहिले चिनियाँको संख्या धेरै रहेको बताउँछन् । ‘विदेशी पर्यटकको संख्या त भूकम्पपछि नै प्रभावित हुँदै आएको हो । त्यही बीचमा कोरोना पनि आयो । अहिले विदेशबाट आउने पर्यटकमा चिनियाँको संख्या धेरै छ । अन्य देशका पर्यटक त्यत्ति बढेनन्,’ क्षेत्रीय होटल संघ चितवन सौराहाका पूर्व अध्यक्षसमेत रहेका भट्टराईले भने । नारायणगढ-बुटबल सडक बिस्तारमा विलम्ब हुँदा भारतीयहरू पनि उल्लेख्य बढ्न नसकेको उनले बताए । ‘सुनौली नाका हुँदै छिरेका भारतीय लुम्बिनी घुमेर चितवनसम्म आउने गर्थे । अहिले नारायणगढ बुटबल सडकको खराब अवस्थाले पर्यटक यता आउनै चाहँदैनन्,’ भट्टराईले भने । नेपाली गन्तब्यबारेमा विदेशमा पर्याप्त प्रचार पनि हुन छाडेको उनले बताए । सरकार र व्यवसायी योजनाबद्ध तरिकाले लागे पर्यटकको संख्यामा उल्लेख्य सुधार हुने उनको भनाइ छ । चितवन, पूर्वी नवलपरासी, मकवानपुर र पर्सा चार जिल्लासँग सिमाना जोडिएको चितवन निकुञ्ज घुम्न १० प्रवेशद्वार छन् ।

प्रकाशित : जेष्ठ १, २०८१ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?