कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी नेता खामलाई सक्कल मिसिलसहित उपस्थित गराउन अदालतको आदेश

चितवन — जिल्ला अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खामलाई सक्कल मिसिलसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ । १५ वर्षअघि माओवादी लडाकुको चितवन शक्तिखोरको तेस्रो डिभिजन मुख्यालयमा काठमाडौं कोटेश्वरका व्यवसायी श्रेष्ठको हत्या मुद्दामा तत्कालिन डिभिजन कमाण्ड खामलाई मंगलबार पक्राउ गरेको थियो । बुधबार प्रहरीले उनलाई चितवन जिल्ला अदालतमा उपस्थति गराएको हाे । 

माओवादी नेता खामलाई सक्कल मिसिलसहित उपस्थित गराउन अदालतको आदेश

न्यायाधीश दयाराम ढकालले सक्कल मिसिलसहित खामलाई अदालतमा उपस्थित गराउन आदेश गरेका हुन् । ‘सक्कल मिसिल प्राप्त भएपछि उपस्थित गराउने गरी न्यायाधीस दयाराम ढकालबाट आज आदेश भएको छ,' स्रेस्तेदार विष्णुप्रसाद आचार्यले भने ।

खामलाई काठमाडौंबाट राति करिब तीन बजे चितवन ल्याइ पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले जानकारी दिए । बुधबार बिहान १० बजेपछि प्रहरीले अदालत पुर्‍याएको थियो । रामहरि श्रेष्ठको हत्या प्रकरण सम्बन्धी मुद्दाको फाइल चितवन जिल्ला अदालतबाट सर्वोच्च अदालत पुगेको छ ।

सोही मुद्दासँग जोडिएका खाम अदालतमा उपस्थित भएपछि सर्वोच्चमा मिसिल पठाउन अनुरोध गरेको र बिहीबार कार्यालय समयसम्म सक्कल मिसिल आइसक्ने सम्भावना रहेको स्रेस्तेदार आचार्यले बताए । ‘मिसिल आएपछि पहिला अभियुक्तको बयान हुन्छ । बयान सकिएपछि थुनछेक आदेशका लागि बहस हुन्छ,’ स्रेस्तेदार आचार्यले भने । बहस सुनेपछि अभियुक्तलाई मुद्दा फैसला नहुँदासम्म थुनामा राख्न कारागार पठाउने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा अदालतबाट आदेश आउने नियम छ ।

मिसिलसहित उपस्थित गराउने आदेश आएपछि खाम चितवन प्रहरीकै हिरासतमा फर्केका छन् । रामहरि श्रेष्ठलाई विस २०६५ साल बैशाख १५ गते राती काटेश्वरबाट शक्तिखोर ल्याइएको थियो । श्रेष्ठको घरमा माओवादी सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । सो घरबाट १५ लाख रुपैयाँभन्दा बढी नगद र हतियार हराएको विषयमा छानविन गर्नका लागि रामहरि श्रेष्ठलाई शक्तिखोर ल्याएको थियो ।

शिबिरभित्रै बैशाखको २७ गते श्रेष्ठको मृत्यु भएको थियो । पोष्टमार्टम रिपोर्टका अनुसार उनको मृत्यु कुटपिटका कारण भएको थियो । लडाकु शिविर भित्रै कुटपिटका कारण मृत्यु भएपछि रामहरिकी श्रीमती रमिला श्रेष्ठले शिबिरका तत्कालिन ब्रिगेड कमाण्डर जिवित भनिने गोविन्दबहादुर बटला सहित तेस्रो डिभिजनका तत्कालिन कमाण्डर विविध भनिने कालिबहादुर खाम र लडाकुहरु केशव अधिकारी रघु तथा गंगाबहादुर थापा एटम विरुद्ध मुद्दा दिएकी थिइन् । तर बटला प्रहरीमा आए पनि अरु कोही पक्राउ परेनन् ।

बटला, अधिकारी र थापालाई सर्वोश्व सहित जन्म कैदको सजाय माग गरिएको थियो । त्यस्तै तेस्रो डिभिजनका तत्कालिन कमाण्डर खामको आदेशमा सो घटना भएको हुँदा उनलाई १० देखि १५ वर्षसम्मको कैद सजाय माग गरेर मुद्दा दायर भएको थियो । अधिकतमा सजाय माग गरे पनि प्रमाण नपुग्ने देखिएको भन्दै चितवन जिल्ला अदालतले ६८ सालको जेठ १७ मा बटलालाई तीन वर्ष मात्रै कैद हुने फैसला गरेको थियो । बटलालाई भएको सजाय कम भयो भन्दै मुद्दाको वादी रहेको नेपाल सरकारले तत्कालिन पुनरावेदन अदालत र सर्वोच्च अदालतमा पनि निवेदन दिएको थियो ।

पुनरावेदन र सर्वोच्चले पनि जिल्लाकै फैसला सदर गरेको थियो । तर नेपाल सरकारले सर्वोच्च अदालतको निर्णय पनि पुनरावलोकन गर्न निवेदन दिएपछि ७७ सालको असोज १५ मा पुनरावलोकनका लागि स्वीकृति प्राप्त भएको थियो । त्यसैले मुद्दाको सक्कल फाइल सर्वोच्चमा छ । जाहेरवालको तर्फबाट रामहरि श्रेष्ठकी श्रीमती रमिला पनि बुधबार नै चितवन आइपुगेकी छन् । उनले १५ वर्षपछि अभियुक्त पक्राउ परेको हुँदा न्याय पाउने आशा बढेको प्रतिकृया दिइन् ।

प्रकाशित : चैत्र २१, २०८० १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?