२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

जेष्ठ नागरिकलाई श्रृंगार शिविर 

काभ्रे — गालामा क्लिनजिङ मिल्क लगाएर मसाज गर्दा लजाउँदै मसुमसु हाँसिरहेकी थिइन् । पनौती नगरपालिका–९ स्थित नौबिसे फाँटमा शनिबार सञ्चालन भएको श्रृंगार शिविरमा भेटिएकी ७२ वर्षीया सन्तमाया श्रेष्ठ झनै सँगै रहेका सङ्गीहरुले जिस्काउँदा लाजले भुतुक्कै हुन्थिन् ।

जेष्ठ नागरिकलाई श्रृंगार शिविर 

जीवनमा पहिलो पटक श्रृंगारले सजिँदा लाजका भावहरु उनको मुहारमा झल्किरहेका थिए । बूढ्यौली उमेरमा श्रृंगार गर्न जाँदा वैष उमेरको झ-झल्को आएको उनले सुनाइन् । ‘वैषमा राम्री हुन पाइएन, उ बेला यस्तो श्रृंगार कहाँ पाउनु?’ ठट्यौली पारामा उनले भनिन्, ‘नम्बरी सुनलाई कसी लगाउन पर्दैन भनेर जिस्काउँथे, कहाँको श्रृंगारपट्टार गर्नु र त्यो बेला, गाजल र लाली लगाउँदा त जिस्काउँथे ।’

अनुहारमा कुनै क्रिम समेत नलगाएकी उनले सौन्दर्यकर्मीहरुले अनुहार सफा बनाउनका लागि क्लिनजिङ मिल्क क्रिमले मसाज गर्दा अनौठो लागेको बताइन् । ‘नानीले क्रिम लगाएर मसाज गरिन्, काउकुती लागे जस्तो भयो,’ उनले भनिन्, ‘पहिलो पटक गरेकोले पनि अलि अनौठो लाग्यो, बूढेसकालमा के–को श्रृंगार–पट्टार भन्ने गर्छौ, तर श्रृंगार भनेको सबै उमेरको मान्छेलाई चाहिने रहेछ ।’

नौबिसे फाँटकी ६४ वर्षीया रामचेली श्रेष्ठलाई श्रृंगार भनेको तन्नेरी उमेरमा मात्रै गर्नुपर्छ भन्ने लाग्थ्यो । श्रृंगारलाई लाजको दृष्टिकोणबाट हेरिने समय गुजारेकी उनले जीवनमा यसअघि कहिल्यै श्रृंगार गरेकी थिइनन् । ‘सधैं काम काजमा व्यस्त भइन्छ, श्रृंगार, सर–सजावट गर्ने फुर्सद नै हुँदैन,’ उनले भनिन्, ‘तन्नेरीमा नगरेको श्रृंगार, अब यो उमेरमा आएर के गर्नु जस्तो लाग्थ्यो, गर्नुपर्छ जस्तो पनि लाग्दैनथ्यो ।’

फुलेको सेतो कपालमा कलो रङ्ग लगाउँदा ७५ वर्षीया मिश्रीमाया श्रेष्ठ अनौठो अनुभूति गर्दै थिइन् । सेतो कपालले बूढ्यौली संकेत गरेकाले पनि यसलाई रङ्गाउन उनले कहिल्यै चासो राखिनन् । बद्लिदो परिवेशसँगै फुलेको कपाललाई धेरैले कालो, रातो रंग राखेर रङ्ग्याउने गर्छन् । उनका परिवार र आफन्तले पनि कपाल रङ्गाउनका लागि नसुझाएका भने होइनन् । बूढ्यौलीमा कपाल रङ्गाउनु भनेको नक्कलझक्कल गर्नु जस्तो लाग्थ्यो । त्यसकारण पनि कहिल्यै इच्छा देखाइनन् ।

गाउँमा श्रृंगार शिविर हुँदैछ भनेर साथी–संगीले खबर गरेपश्चात कार्यक्रममा सहभागी भएको उनले बताइन् । ‘आफ्नै उमेरका साथीहरुले पनि कपालमा रंग गरेको देखें,’ उनले भनिन्, ‘साथीहरुले गरेको देखेर आफूलाई पनि कपालमा कालो लगाउन मन लागेर लगाएको हुँ ।’ कपालमा कालो लागउँदा रुप नै बेग्लै देखिएको उनले अनुभव सुनाइन् ।

श्रृंगार भन्ने बित्तिकै महिलाले मात्रै गर्नुपर्छ मानसिकता पछिल्लो समय परिवर्तन भएको छ । श्रृंगार महिला र पुरुष दुवैले गर्छन् । यसमा गरिने तौरतारिका फरक हुने कुरा आफूले शिविरमा आएको बुझेको पनौती–९ नौबिसे फाँटका ७४ वर्षीय रघुनाथ श्रेष्ठ बताउँछन् । उनले शिविरबाट कपाल, दारी काट्ने, मसाज र फेस मसाजको सेवा लिए । ‘पुरुषको पनि सौन्दर्यको काम हुने रहेछ,’ उनले भने, ‘क्लिनजिङ, फेसियल, हेयर कलर, जस्ता धेरै काम हुने रहेछ, यो सब महिलाले मात्रै गर्छन् भन्ने लाग्थ्यो, त्यहीँ भएर पनि यस अघि कहिल्यै गरिएन, अहिले शिविर आएको भएर यी कुराहरु थाहा पाए ।’

पनौती नगरपालिका ९ स्थित नौबिसे फाँटमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रले जेष्ठ नागरिकहरुका लागि श्रृंगार शिविर सञ्चालन गरेको हो । ४ जना सौन्दर्यकर्मीले उनीहरुलाई श्रृंगार गरेर चिटिक्क बनाउने काम गरिरहेका थिए । आफूले दैनिक रुपमा गरिरहेको कामभन्दा जेष्ठ नागरिकको सेवा गर्दा छुट्टै अनुभूति भएको सौन्दर्यकर्मी दिपा श्रेष्ठले बताए ।

‘यो उमेरका आमाबुबा श्रृंगारकै लागि भनेर पार्लर धाउनु हुँदैन,’ उनले भनिन्, ‘यहाँ आउने धेरैले पहिलो पटक सेवा लिनुभएको छ, उहाँहरुलाई यस बारेमा सामान्य ज्ञान पनि छैन, श्रृंगार मात्र होइन, छाला र अनुहारको स्याहार गर्नुपर्छ भनेर सम्झाएका छौं, बुझाएका छौं ।’ उनका अनुसार परिवारका सदस्यहरुले पनि बूढ्यौलीमा छाला र अनुहारको स्याहार गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । शिविरमा उनीहरुले क्लिनजिङ, फेसियल, हेयर कटिङ, हेयर कलर, फेस मसाज, ओइल मसाज, मेनीक्येर, फेस मेकअप, लगायतका सौन्दर्य सम्बन्धि सेवा दिएका थिए ।

सौन्दर्य तन्नेरी उमेरकालाई मात्र नभएर बूढ्यौलीको उमेरकालाई पनि आवश्यक हुने भएकाले जेष्ठ नागरिक मिलन केन्द्रले जेष्ठ नागरिकहरुका लागि श्रृंगार शिविर सञ्चालन गरेको शिविर कार्यक्रमका संयोजक विजयभक्त श्रेष्ठले बताए । ‘यो उमेरकालाई यसको आवश्यकता अझै बढि हुन्छ,’ उनले भने, ‘तन्नेरीहरु त यस विषयमा जानकार छन्, कसरी आफू सुन्दर हुने, कसरी आफ्नो अनुहार, छालाको स्याहार गर्ने भन्ने कुरा बुझेका छन्, तर जेष्ठ नागरिकलाई पनि यसको कुनै ज्ञान नै छैन, सौन्दर्य र श्रृंगार त उहाँहरुको लागि सधैं लाजको विषय मात्र भयो, कहिल्यै आफू सुन्दर ईच्छा राख्नु भएन, त्यसकारण पनि हामीले नयाँ खालको कार्यक्रम आयोजना गरेका हौं ।’

शिविरमा सौन्दर्य सेवासँगै ४५ जना जेष्ठ नागरिकलाई टिका, काइयो, भ्यास्लीन, हेयर कलर, कपाल बाँध्ने रबरलगायतका श्रृंगारका सामग्री पनि वितरण गरिएको उनले बताए । उनीहरुको स्वास्थ्य, सौन्दर्य र सुन्दरतालाई ख्याल गर्दै यस प्रकारको कार्यक्रमलाई नियमित बनाइने योजना उनले सुनाए ।

प्रकाशित : चैत्र १८, २०८० १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?