२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

डढेलो बस्तीमा सल्किँदा रामेछापमा २६ घरगोठ जले

दाेलखा — रामेछापको रामेछाप नगरपालिका-९ टार गाउँमा वनमा लागेको डढेलो बस्तीमा सल्किँदा २६ वटा घरगोठ जलेर नष्ट भएका छन् । वडा नं ९ का वडाध्यक्ष चन्द्र श्रेष्ठका अनुसार सो गाउँमा बिहीबार आगलागीले २६ वटा घरगोठ पूर्ण रुपमा जलेर नष्ट भएका हुन् ।

डढेलो बस्तीमा सल्किँदा रामेछापमा २६ घरगोठ जले

गाउँका १४ वटा घर र १२ वटा गोठ जलेर नष्ट भएका छन् । मानवीय क्षति नभए पनि घर भित्र रहेको धनमाल, अन्नपात, लत्ताकपडा सबै जलेका छन् । गोठमा बाँधिएका भैँसी, गोरु र ५० वटा भन्दा बढी खसीबाख्रा आगोले जलेर मरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

गाउँमा ४५ घरगोठ रहेकोमा आगो पूर्णरुपमा नियन्त्रणमा नआएका कारण स्थानीयमा त्रास कायम छ । आगलागीबाट घरबारविहीन भएका स्थानीयहरु खुलाआकाश मुनि रात कटाउनुपर्ने स्थितिमा पुगेका छन् । टारगाउँका स्थानीयहरु रामेछापको बिहीबारे हाटमा आएको समयमा आगलागी हुँदा धेरै क्षति भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

आगालागी नियन्त्रणको प्रयास भइरहेको उनले बताए। नेपाली सेना, प्रहरी, ससस्त्र प्रहरी, डिभिजन वन कार्यालयका अग्निनियन्त्रक टोली, मन्थली नगरपालिकाको दमकल र स्थानीय नागरीकहरु आगो नियन्त्रणमा जुटेका छन् ।

प्रकाशित : चैत्र १, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?