२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

तातोपानी नाकाबाट सुनको जलप लगाइएको तामासहित पक्राउ

अनिश तिवारी

सिन्धुपाल्चोक — उत्तरी नाका तातोपानी हुँदै मोटरसाइकलमा आएका एक युवाबाट बाह्रबिसे नगरपालिका खुर्सानीबारीमा प्रहरीले सुनजस्तै देखिने एक किलो धातुसहित अवैध कागजात फेला पारेको छ ।

तातोपानी नाकाबाट सुनको जलप लगाइएको तामासहित पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक सन्तोष खड्काकाअनुसार बाह्रबिसे नगरपालिका ३ खुर्सानीबारी चेक पोष्टमा जाँच गर्ने क्रममा भोटेकोशी गाउँपालिका ३ मार्मिङ छ्यादीगाउँका २३ वर्षीय थर्चेन तेम्बा तामाङलाई सोमबार समातिएको हो ।

‘ती युवाबाट शंकास्पद गतिविधि देखियो, खानतलासीको क्रममा सुनको जलप लगाइएको धातु फेला परेको छ, यीसहित केही नगद, चेक, सीमा प्रवेश अनुमतिपत्रजस्ता शंकास्पद सामग्री भेटिएको छ,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले भने । उनका अनुरुप सुनझैं देखिने धातु फेला परेपछि सुनचाँदी व्यवसायी संघ सिन्धुपाल्चोकलाई परीक्षणको लागि पठाइएको थियो । मंगलबार परीक्षणमा सुन नभई तामा रहेको पुष्टि भएपछि आरोपीसहित धातु, कागजात इप्रका बाह्रबिसेले सार्वजनिक गरेको थियो ।

सञ्चारकर्मीसँग आरोपीसहित बरामद सामग्री सार्वजनिक गर्ने क्रममा अभियुक्तले आफूलाई यस्तो धातु पठाउने मान्छे चीनमा रहेको र यस्तो काम पहिलो पटक गरेको बताएका थिए । तातोपानीबाट बाह्रबिसेतर्फ आएको भे ११ प ५५८८ नम्बरको सेतो एनक्स मोटरसाइकलमा सवार थर्चेनले प्रहरीसँग सोधपुछमा अकमकाएका थिए । थर्चेनबाट एक हजारको चार थान नोट, २० को एक र १० को एक थान गरी जम्मा ६ थान नेपाली नोट, एक थान मोबाइल सेट, ६ थान चेकबुक, राहदानी ४ थान, सीमा प्रवेश अनुमतिपत्र ३ थान, नागरिकता १, फोन डायरी फेला परेको छ ।

‘नाकाबाट आएका युवाबाट यस्तो सामग्री आएको युवा भेटिएपछि थप अनुसन्धानलाई अघि बढाएका छौं , ठग्ने उद्देश्यकासाथ यस्तो सामान ल्याइएको हुन सक्ने आशंकमा अन्य कानुनी प्रक्रिया भइरहेको छ,’ जोशीले भने ।

प्रकाशित : फाल्गुन २९, २०८० १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?