२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुनकोसी-मरिण डाइभर्सन : सुरुङ खन्ने काम पुन: सुरु

राजकुमार कार्की

सिन्धुली — पहिरोमा टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन फसेर दुई महिना अघिदेखि अवरुद्ध सुनकोसी मरिण डाइभर्सनको सुरुङ खन्ने काम शुक्रबारबाट पुन: सञ्चालनमा आएको छ । सुरुङभित्रै सुख्खा पहिरो खसेर मेसिन पुरेपछि काम अवरुद्ध भएको थियो । 

सुनकोसी-मरिण डाइभर्सन : सुरुङ खन्ने काम पुन: सुरु

सुरुङभित्र पुरिएको टीबीएम मेसिनलाई वाइपास बनाएर सुरक्षित निकालेपछि काम सुरु भएको सुनकोसी-मरिण बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।

महाभारत क्षेत्रका जटिल भौगोलिक अवस्था र भूमिगत पानीको संयोजनका कारण ६० दिनअघिबाट सुरुङभित्रै खसेको पहिरोले अवरुद्ध भएको काम सामान्य रुपमा सुरु भएको उनले जनाए ।

सुरुङभित्र दायाँबायाँ र माथिबाट पाउडर जस्तो माटो झरेर टीबीएमलाई थिचेपछि १०.५४४ किलोमिटरमा पुगेर काम रोकिएको थियो । सुरुङ खन्ने टीबीएम मेसिन उत्पादक कम्पनी रोविन्स अमेरिका, परामर्शदाता स्मेक अस्ट्रेलिया, ठेकेदार कम्पनी कोभेक चाइना, विज्ञ टोली, आयोजनाका प्राविधिकहरुको संयुक्त प्रयासमा रोकिएको काम सञ्चालन भएर थप १ सय १९ मिटर खनिसकिएको छ । यसअघि पनि पाँच पटक सुरुङ भित्रै पहिरो खसेर काम रोकिएको थियो । १३.३ किलोमिटर लम्बाइ रहेकोमा अब २६ सय ३७ मिटर सुरुङ खन्न बाँकी छ ।

सुनकोसी गाउँपालिका-७ ट्याङ, ट्याङ खोला मुनीबाट काम अगाडि बढेकाले सुरुङ खन्ने मेसिन टीबीएम अब रोकिने संभावना कम रहेको आयोजनाले जनाएको छ । सुरुङ खन्ने काम २०७९ असोज २८ गतेबाट सुरु भएको थियो । तोकिएको २२ महिनाको अवधि ०८१ साउन २८ गतेभित्रै सुरुङको काम सक्ने गरी आयोजना लागिरहेको छ । अवरोध नआई काम लगातार भएमा तोकिएको मितिमै सम्पन्न हुने आयोजना प्रमुख बरालले बताए ।

सुनकोसी मरिण डाइभर्सनको सुरुङको स्थल । तस्बिर : राजकुमार कार्की/कान्तिपुर

प्रकाशित : फाल्गुन ११, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?