२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लोथरको दुङ्बाङ आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग

रमेशकुमार पौडेल

चितवन — जिल्लाको पहाडी गाउँ लोथर स्यामराङको दुङ्बाङ आधारभूत विद्यालय (कक्षा ५सम्म)का विद्यार्थीले विद्यालय पोशाक र स्टेशनरी वितरण गरिएको छ ।

लोथरको दुङ्बाङ आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग

खैरहनी पर्साका मुरलीप्रसाद गजुरेलको अगुवाईमा संकलन भएको नगदले विद्यार्थीका लागि सहयोग सामाग्री जुटेको हो । हाल राप्ती नगरपालिका–१३ मा परे पनि स्यामराङ जिल्लाको विकट पहाडी गाउँ हो । जहाँ सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङहरुको बसोबास छ ।

विद्यालयमा पढ्ने सबै बालबालिका चेपाङ समुदायका छन् । विद्यालय सेवा क्षेत्रभित्र रहेका ९६ घर नै चेपाङको भएको विद्यालयका प्रधानाध्यापक अतिबल प्रजा चेपाङले बताए । अभिभावकको कमजोर आर्थिक अवस्थाका कारण विद्यार्थीलाई चाहिने न्यानो कपडा र विद्यालय पोशाक दाताहरुकै सहयोगबाट प्राप्त हुँदै आएको उनले बताए । माघ १९ मा सहयोगीहरुले नै न्यानो कपडा दिएका थिए ।

विद्यालयमा हाल ५७ जना छात्रासहित ११५ जना विद्यार्थी छन् । ‘उनीहरुको अवस्था नाजुक भएको सुनेका कारण ड्रेस र स्टेशनरी सहयोग गर्ने योजना बनाएका हौं । यसका लागि बाबुआमाको तिथी परेकाहरु, जन्म दिनको अवसर र वृद्धभत्ता बुझेकाहरुले पनि रकम सहयोग गर्नुभयो । २३ जनाले रकम दिनुभयो । जसमध्ये विदेशमा बस्ने १२ जना छन्’ गजुरेलले भने । सवा लाख रुपैयाँ बराबरका सामाग्रीहरु सहयोग गरेको उनले बताए ।

राप्ती नगरपालिकाको केन्द्र भण्डारा बजारबाट उत्तरमा रहेको स्यामराङमा भर्खर गाउँ नजिक मोटर बाटो पुगेको छ । तर बाटो कच्ची र पहाडी भेगको भएका कारण जीपमा जाँदा पनि कम्तिमा तीन घण्टा लाग्छ । २०२६ सालमा स्यामराङमा स्कुल खुलेको हो । तर हालसम्म पाँच कक्षा मात्रै पढाइ हुन्छ । ६ पढाइ हुने स्कुल गाउँबाट टाढा छ । त्यसैले कक्षा ५ पछि ६ पढ्ने कम छन् । गत वर्ष मात्रै ११ जनाले कक्षा पाँच उत्तीर्ण गरे पनि कक्षा ६ पढ्न अन्य स्कुल जाने दुईजना मात्रै भएको विद्यालयका प्रधानाध्यापक अतिबल प्रजा चेपाङले बताए ।

प्रकाशित : माघ २९, २०८० १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x