कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

५ शय्याको बर्थ युनिट उद्घाटन गर्न पुगेका मन्त्रीसँग २ सय शय्याको अस्पताल माग

रमेशकुमार पौडेल

चितवन — भरतपुरको सरकारी अस्पतालमा महिनामा सरदर एक हजारजना जना सुत्केरी हुन आउने गरेका छन् । सो अस्पतालमा सोमबारदेखि पाँच शय्याको विशिष्ट खाले बर्थिङ युनिट पनि सञ्चालनमा आएको छ ।

५ शय्याको बर्थ युनिट उद्घाटन गर्न पुगेका मन्त्रीसँग २ सय शय्याको अस्पताल माग

निक साइमन इन्स्टिच्युटको सहयोगमा बनेको सो युनिटको उद्घाटन गर्न संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी भरतपुर आएका थिए ।

अस्पतालका अधिकारीहरुले मन्त्रीहरुलाई नयाँ युनिटको विशेषता मात्रै बताएनन् प्रसुति विभागका गाह्रा अफ्ठ्याराहरु खोलेर सुनाए । अस्पतालका स्त्री रोग तथा प्रसूति विभागका प्रमुख प्राध्यापक डा. सुनिलमणि पोखरेलले सुत्केरी हुन आउने महिलाहरुको चापका आधारमा अस्पताल हाताभित्र दुई सय शय्याको अर्को छुट्टै ब्लक बन्न आवश्यक रहेको बताए । यसका लागि ५० करोड रुपैयाँ बजेट चाहिने उनको भनाइ छ ।

मन्त्रालयमा माग गरेपनि बजेट अभाव छ भनेका कारण भवन बनाउन नसकेको उनले बताए । ‘यहाँ वर्षमा १२ हजार जना जति सुत्केरी हुन आउँछन् । भवन र बेड अपुग हुँदा व्यथा लागेर छट्पटिएका महिलाहरु पनि भुइँमै राख्नु परेको मन्त्रीज्युलाई अवगत नै छ,’ डा.पोखरेलले भने । सुत्केरी हुन आउनेमध्ये ४० प्रतिशतको शल्यक्रिया हुने गरेको उनले बताए । जटिल अवस्थाका गर्भवती भरतपुर अस्पताल नै आउँछन् ।

‘त्यसैले अस्पतालमा शिशु र गर्भवतीका लागि छुट्टै ब्लक चाहिएको हो’ भरतपुर अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट डा.श्रीराम तिवारीले भने । अस्पतालमा सुत्केरी हुनेहरुको संख्याअनुसार चिकित्सक र नर्सहरुको दरबन्दी पनि पर्याप्त नभएको डा. पोखरेलको भनाइ छ । सरकारी दरबन्दीका पाँज चजना जति र समितिले राखेका ६ जना जति चिकित्सक भएको हुँदा कामका हिसाबले बढी नै चापमा रहेको डा.पोखरेलले बताए ।

भरतपुर अस्पतालले सिमित स्रोत साधनकाबीच पनि सन्तोषजनक सेवा दिँदै आएको चिकित्सकहरुले बताए । नयाँ बर्थिङ युनिटले अस्पतालको सेवालाई झनै सन्तुष्ट पार्ने डा.पोखरेलको भनाइ छ । पाँचवटा कोठा भएको नयाँ युनिटमा हरेक कोठामा सुत्केरी हुने एकजना महिलालाई राखिने छ । उनीसँगै भरपर्दो कुनै एकजना अभिभावक पनि साथमै हुनेछन् । कोठामा सुमधुर संगीत बज्ने छ ।

कसरत गर्ने, दुखाइ भएमा मसाज गर्ने सामानहरु पनि त्यही हुनेछन् । परिवारका सदस्य साथमा भए पनि सुत्केरी स्याहारका बारेमा तीन वर्षको विशेष तालिम लिएका नर्सले सो युनिटको नेतृत्व गरेका छन् । वरपरको वातावरण सहज भए सुत्केरी हुने महिलामा इन्डोरफिन नामक हर्मोन बढ्ने र पीडा कम गर्न मद्दत गर्ने डा.पोखरेलले बताए । यसबाट सामान्य तरिकाले सुत्केरी हुने सम्भावना बढेर जाने उनले बताए ।

‘यो युनिटको वातावरण पुरै घरको जस्तो पारिवारिक हुन्छ । जटिल्ता नभएका सामान्य रुपमा सुत्केरी हुने महिलालाई हामी यो युनिटमा राख्छौं । तर यसको रेखदेख विशिष्ट ज्ञान भएका मिड वाइफहरुले गर्नेछन् । केही जटिलता आए विशेषज्ञ चिकित्सकलाई तत्काल खबर पुग्छ’ भरतपुर अस्पतालको स्त्री रोग तथा प्रसूति विभागका प्रमुख प्राध्यापक डा.सुनिल पोखरेलले भने । दुईजना मिड वाइफ र अन्य ६ जना नर्सहरु यो युनिटमा रहने छन् ।

नयाँ बर्थिङ युनिट निक साइमन इन्स्टिच्युटको आर्थिक सहयोगमा बनेको हो । झण्डै एक करोड रुपैयाँको सहयोगमा युनिट तयार गरेको इन्स्टिच्युटका कार्यकारी निर्देशक डा.अर्चना आमात्यले बताइन् । दुईजना मिड वाइफको तलब पनि इन्स्टिच्युटले नै बेहोर्ने छ ।

प्रकाशित : मंसिर २५, २०८० १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?