२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सकियो गोही संरक्षण मेला 

रमेशकुमार पौडेल

चितवन — माडी बनकट्टाका जगनारायण बोटे र उनका साथीहरुले शनिबार सौराहा चित्रसारी चौरमा आफ्नो समुदायको मौलिक नाँच ‘गोलेनी’ देखाए । आमा बिरामी भएर माइत जान हतारिएकी युवतीले छिट्टो डुंगा तारिदिन युवकसँग गरेको संवाद नै ‘गोलेनी’ गीत र नाचमा पोखिएको छ ।

सकियो गोही संरक्षण मेला 

संकट उन्मुख गोही संरक्षणका लागि आयोजित मेलाको दोस्रो दिन जगनारायणको टोली बोटे समुदायको संस्कृति देखाउन सौराहा आएको हो ।

‘गोही र हामी बोटे जाति एकै एकै हो नि, दुवै संकटमा परेका छौं । हामी त संकटमा छौं नै, यो गोहीलाई बचाउन पनि कम्मर कसेर लागेका छौं,’ नाँच देखाउनुअघि जगनारायणले भने ।

बोटेको जनसंख्या देशभर ११ हजार जति रहेको र चितवनमा तीन हजारको हाराहारीमा बोटेहरु बस्ने उनले बताए । गोहीको संख्या पनि घट्दै गएका कारण संरक्षणमा हातेमालो गर्न आफूहरु तयार रहेको उनले सुनाए । ‘हामी खोला आडमा बस्छौं । गोही पनि खोलामा बस्छ । बगरमा गुँड बनाएर अण्डा पार्छ, बच्चा कोरल्छ । गोहीले कहाँ गुँड लगायो हामी बोटेलाई जति राम्रोसँग थाहा अरुलाई हुन्न । हामी बोटे पनि संकटमा छौं । हाम्रो संकट सरकारले समाधान गरोस् तर गोही हामी पनि बचाउँछौं,’ जगनारायणले भने ।

केयर फर नेचर नामक संस्थाले शुक्रबार र शनिबार आयोजना गरेको मेलाको उद्देश्य नै समुदायलाई जागरुक बनाउने थियो । आयोजक संस्थाका अध्यक्ष रञ्जना भट्टका अनुसार नेपालमा घडियाल र मगर गरेर दुई प्रजातिका गोही पाइन्छन् । घडियाल गोही सफा बग्ने पानीमा बस्छ । माछा खान्छ । मगर गोही जमेको घोल र खोलामा पनि बस्छ । घडियाल गोही अति संकटापन्न प्रजाति हो भने मगर गोही पनि जोखिम अवस्थामा रहेको जीव हो । ‘यी गोहीमाथि भएको संकट र जोखिमको जिम्मेवार हामी मान्छे नै हौं,’ भट्टले भनिन् ।

गोहीको मुखौटा लगाएर कार्यक्रममा सहभागी भएका एक व्यक्ति । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

मेलाको शनिबार सम्पन्न दोस्रो तथा अन्तिम दिनको कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले गोहीमध्ये घडियालको अवस्था नाजुक रहेको बताए । उनले नेपालमा घडियालको संख्या ५० भन्दा पनि तल गएपछि संरक्षण गर्न सन् १९७८ मा कसरामा घडियाल गोही प्रजनन् केन्द्र खुलेको बताए । त्यहाँ अण्डा राखेर निस्केका बच्चा हुर्केपछि नदी र खोलमा छाड्ने गरिन्छ ।

‘केन्द्रमा हुर्केका मात्रै एक हजार ८ सय ६२ जति घडियालहरु विभिन्न खोला र नदीमा छाडेका छौं । तर २ सय ६८ को हाराहारीमा मात्रै नेपालको प्राकृतिक बासस्थलमा घडियाल भेटिएका छन् । त्यसैले अवस्था कस्तो छ ? यसैबाट अन्दाज लगाउन सकिन्छ,’ पुर्जा पुनले भने ।

नेपालमा चितवनको राप्ती र नारायणी नदी क्षेत्रमा तथा बर्दियाको बबइ र कर्णाली नदीमा घडियाल पाइन्छ । सबैभन्दा धेरै २ सय ४९ घडियाल चितवनमा भएको उनले बताए ।

‘घडियालले माछा मात्रे खाने हो । माछा पनि अलि सफा खाले माछा खान्छ । जहाँ घडियाल पाइन्छ त्यहाँको खोला र नदी सफा सुग्धर र वातावरणीय हिसाबले स्वच्छ छ भन्ने संकेत हो । यस्तो महत्वपूर्ण जीवको आहारा र बासस्थल जोगाउन नसक्दा घडियाल बढाउन गाह्रो भएको छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले भने । नदी किनारको गिट्टी बालुवाको अनियन्त्रित दोहन र प्रदूषण यसको प्रमुख कारण हो ।

त्यसैगरी विषादीको बढ्दो प्रयोगले सबै खाले जलचरलाई संकटमा पारेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर पनि गोहीहरु मर्ने गरेको रञ्जना भट्टले बताइन् । चितवनमा पहिला नारायणी नदी क्षेत्रमा अत्यधिक घडियाल पाइन्थ्यो । राप्तीमा घडियाल देख्न गाह्रो हुन्थ्यो । तर अहिले राप्तीमा नारायणीमा भन्दा धेरै गोहीहरु छन् ।

राप्तीमा मिसिन आउने सहायक खोलाहरुमा पनि घडियाल देखिन थालेका छन् । ‘त्यसैले राप्ती नारायणी आसपासका साथै अन्य खोला किनारका बासिन्दालाई पनि गोही संरक्षणमा सजग बनाउन आवश्यकता छ,’ बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले भने ।

बाघमारा आडबाट बग्ने बुढी राप्ती खोलामा पनि घडियालले गुँड नै बनाएर बच्चा कोरल्छ । शनिबार खुल्ला कार्यक्रम गरे पनि शुक्रबार आठवटा विद्यालयमा गोही संरक्षणबारे शैक्षिक कार्यक्रम सञ्चालन गरेको भट्ट जानकारी गराइन् ।

प्रकाशित : मंसिर २३, २०८० १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x