१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

अन्तर्राष्ट्र्रिय अपांगता दिवसमा क्षमता प्रदर्शन 

ज्योती श्रेष्ठ

काभ्रे — अपांगता भएका व्यक्तिहरुले आफ्नो क्षमता देखाएका छन् । बनेपा नगरपालिकाले आइतबार आयोजना गरेको ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुले उत्पादन गरेको हस्तकलाका सामग्री र सांस्कृतिक प्रस्तुति देखाइएको हो ।

अन्तर्राष्ट्र्रिय अपांगता दिवसमा क्षमता प्रदर्शन 

कार्यक्रममा स्पाइनल इन्जुरी पुन:स्थापना केन्द्र, काभ्रे बहिरा विद्यालयलगायत अपांगता क्षेत्रसँग आबद्ध ५ वटा संस्थाका प्रतिनिधिहरुले आफूले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु नगरपालिकाको प्रांगणमा प्रदर्शनीका लागि राखिएको थियो ।

‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अन्तर्राष्ट्रिय अपांगता भएका व्यक्तिको अपनत्व र नेत्तृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित भएको कार्यक्रममा अपांगताका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

सांस्कृतिक प्रस्तुति दिएका संस्थाका प्रतिनिधिहरुलाई नगरपालिकाले हौसला स्वरुप प्रतिव्यक्ति २ हजार रुपैयाँ प्रदान गरेको बनेपा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत बिजया सुवेदीले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटाले अपांगता व्यक्तिहरुको क्षमताको सम्मान गर्नुको साथै उनीहरुलाई हौसला पनि प्रदान गर्नुपर्ने बताइन् । नगरपालिकाले पनि अपांगता भएका व्यक्तिहरुलाई पहिलो प्रथामिकतामा राखेर कार्यक्रमहरु तयार गरिरहेको उनले बताइन् ।

अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले योजनाबद्ध कार्यक्रम बनाउने उपप्रमुख सापकोटाले प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै, बनेपा नगरपालिकाको वडा नं ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले अपांगता व्यक्तिहरुको अधिकार संरक्षण गर्नुपर्ने र यस कार्यमा आफू प्रतिबद्ध रहेको बताइन् ।

दिवसको अवसरमा नगरपालिकाले गरेको सचेतनामूलक प्रभातफेरी कार्यक्रम बनेपा नगरको प्रांगणबाट सुरु भई बनेपा बजार परिक्रमा गरिएको थियो । सो अवसरमा नगरपालिकाको अपांगता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रममा आदर्श बाल विकास केन्द्र, काभ्रे बहिरा विद्यालय, नेत्रहिन संघ, स्पाइनल इन्जुरी पुर्नःस्थापना केन्द्र, अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, अपांग महिला संघ, मेरुदण्ड पक्षघात संघ काभ्रे, पोर्टेज पुनर्स्थापना केन्द्र, सिफ नेपाललगायत अपांगताका क्षेत्रमा आबद्ध संस्थाहरुको सहभागिता थियो ।

प्रकाशित : मंसिर १७, २०८० २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?