कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

हेटौंडा उपमहानगर र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध

मंसिर ९, २०८०
हेटौंडा उपमहानगर र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध

हेटौंडा — मकवानपुरको हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउापालिकामा  शुक्रबार आयोजित समारोहमा दुई स्थानीय तहबीच भगिनी स्थापित गरिएको हो । 

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

दुई पालिकाबीच आसपमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाइलगायतका विषय आदान–प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले बताइन् । आगामी दिनमा एकले अर्को पालिकालाई सहयोग गरी अघि बढ्नका लागि भगिनी सम्बन्धलाई प्रभावकारी ढंगबाट अगाडि बढाइने प्रमुख लामाको भनाइ छ ।

आगामी दिनमा दुवै पालिकाका कार्यपालिका सदस्यबीच आपसी छलफलमार्फत सहकार्य, सहयोगात्मक अभियानका गतिविधिलाई अगाडि बढाइने हेटौंडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख,उपनिर्देशक अनिरुद्र नेपाल बताए ।

गुरु रेम्पोछेको प्रतीमा शिलान्याससहित दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापितको उद्घेश्यले आयोजित कार्यक्रममा पाँचपोखरी थाङपाल गाउापालिकाका उपाध्यक्ष सुनिता अधिकारी, गाउापालिकाका प्रमुख प्रशाकीय अधिकृत लक्ष्मण कुइँकेल, प्रमुख राजनीतिक सल्लाहकार शिशिर वाइबा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ का अध्यक्ष रामकृष्ण थापा, वडा नम्बर–९ का अध्यक्ष शुकराम केसी, हेटौंडा उपमहानगरपालिका प्रमुखका स्वकीय सचिव रूपा बिडारी, नागीथामडाँडा संरक्षण समितिका अध्यक्ष फुर्पासिंगी लामालगायतको उपस्थिती थियो ।

हेटौंडा उपमहानगरपालिकाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट आफनो पहिलो भगिनी सम्बन्ध सुरुवात गरेको हो । आगामी दिनमा अन्य जिल्लाका पालिकासँग पनि भगिनी सम्बन्ध कायम गरी अघि बढ्ने योजनामा पालिका रहेको बताइएको छ ।

प्रकाशित : मंसिर ९, २०८० १२:४१
×