देउसीको रकम भूकम्पपीडितलाई

काभ्रे — काभ्रेको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोटको जनक माध्यमिक विद्यालयले देउसी–भैली खेलेर संकलन गरेको रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई दिने निर्णय गरेको छ ।

देउसी–भैली खेलेर संकलन भएको १६ लाख २५ हजार रुपैयाँ भूकम्पपीडितलाई दिने निर्णय गरिएको विद्यालय संयोजक हरिहर अधिकारीले बताए । उनले उक्त रकम यसै साता भूकम्प प्रभावितलाई प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए ।
भूकम्प प्रभावितको सहयोगार्थ नमोबुद्ध नगरपालिका–२ चिस्यान बुचाकोट, नमोबुद्ध–७ नौबिसे र भकुन्डे बजारमा कात्तिक २७ र २८ मा देउसी–भैली खेलिएको थियो । कार्यक्रम जनक माध्यमिक विद्यालय, जनक बहुमुखी क्याम्पस, नमोबुद्ध नगर पतञ्जली योग समिति र भकुन्डेबेसी जेसिजको सहकार्य र समन्वयमा सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले बताए । विद्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कात्तिक १५ देखि नै देउसी–भैलो कार्यक्रमको तयारी गरेको थियो ।
‘तर कात्तिक १७ मा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परेर ठूलो धनजनको क्षति भएपछि कार्यक्रमको मोडालिटी नै परिवर्तन गरियो,’ कक्षा १२ मा अध्ययनरत लोपसाङ तामाङले भने, ‘सरहरूले यो कार्यक्रमलाई बृहत् रूपमा सञ्चालन गर्नुपर्छ भन्ने सल्लाह दिएपछि तयारी गरेका हौं ।’
भूकम्पपीडितको दुखेको घाउमा मल्हम लगाउनका यस कार्यक्रमबाट संकलन भएको रकम सहयोग गर्न लागिएको अर्की विद्यार्थी प्रीति श्रेष्ठले बताइन् । जनक मावि तथा जनक बहुमुखी क्याम्पसका विद्यार्थीले देउसी–भैली गीत तथा नृत्य, साकेला, सोरठी, धिमे, तामाङ सेलोलगायत नृत्य र लोक–सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
प्रकाशित : मंसिर ४, २०८० ०८:३१