कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

राप्ती नदी सरसफाइ दिवस मनाइयो, ३ जनालाई सम्मान

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सिमाना भएर बग्ने राप्ती नदी सरसफाइ गर्दै आएका अभियन्ताले शुक्रबार ‘राप्ती नदी सरसफाइ दिवस’ मनाएका छन् । सो अवसरमा संरक्षणमा सक्रिय चितवनका तीन जना सम्मानित भएका छन् ।

राप्ती नदी सरसफाइ दिवस मनाइयो, ३ जनालाई सम्मान

सम्मानित हुनेमा चितवन राष्ट्रिय निकुञ्जमा स्थापना कालदेखि नै संलग्न रहेका र प्रमुख संरक्षण अधिकृतसमेत भएर अवकास लिएका रामपृत यादवसमेत छन् ।

यादव अहिले पनि समुदायलाई संरक्षणप्रति जागरुक बनाउने सामाजिक अभियानमा संलग्न रहँदै आएका छन् । त्यसैगरी वन, वातावरण र वन्यजीवका बारेमा लामो समयदेखि समाचार लेख्दै आएका बीबीसी नेपाली सेवाका चितवन संवाददाता ईश्वरकुमार जोशी र बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष रहेका चरा विज्ञ टीका गिरी पनि सो अवसरमा सम्मानित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले संरक्षणकर्मीलाई सम्मान गरेकी हुन् । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले विस २०७३ सालको माघ २३ गतेबाट सफाइ अभियान सुरु गरेको हो । त्यसयता हरेक शनिबार सरसफाइ गर्दै आएको संयोजक अपिल घिमिरेले बताए । राप्ती नदी चितवन निकुञ्जका जनावरले पिउने पानीको मुख्य स्रोत हो ।

राप्तीमा दुर्लभ घडियाल गोही पनि प्रशस्तै पाइने गरेको घिमिरेले बताए । ‘राप्ती किनार वरपर सिसा प्लास्टिक त्यस्सै असरल्ल फ्याँक्ने चलन बढेर गयो । गैंडालगायतका जनावरले प्लास्टिक नै खान थाले । गैंडाको बच्चाको खुट्टामा सिसा गढेर खोच्याउने गरेको देखेपछि सफाइ अभियान सुरु भएको हो,’ घिमिरेले भने । हाल भरतपुर महानगरपालिका–१३, २२ तथा २३ नम्बर वडासम्मको राप्ती किनारमा सफाइ अभियान चलेको छ ।

निकुञ्ज भएर बग्ने मुख्य खोला प्रदूषित हुँदा धेरै खाले समस्या आएको उनले बताए । अहिले राप्तीको तल्लो क्षेत्रमा मात्रै सफाइ अभियान चलेको र माथिल्लो खण्डबाट निरञ्तर फोहोर हुने गरेको संयोजक घिमिरेले बताए । ‘मकवानपुरबाटै बग्दै आउने राप्ती खोलालाई स्वच्छ राख्न मुहान र यस आसपासका सबै गाउँ बस्तीमा सफाइ चेतना फैलाउन आवश्यक छ । त्यसैका लागि यो वर्षबाट दिवस नै मनाउन सुरु गरेका हौं,’ घिमिरेले भने ।

प्रकाशित : मंसिर २, २०८० १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?