दोलखामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दोलखा — तामाकोसी-मन्थली सडकखण्डअन्तर्गत दोलखाको तामाकोसी गाउँपालिका–१ भिरकोटनजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान दोलखाको किर्नेटारबाट भिरकोटतर्फ जाँदै गएको वाग्मती प्रदेश ०१००३ क ९३५९ नम्बरको ट्रक र तामाकोसी बजारबाट भिरकोटतर्फ जाँदै गरेको बा २९ प ११६२ नम्बरको मोटरसाइकल ठोक्कर दिँदा तामाकोसी गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय सुशील माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार सोही स्थानका माइकल माझी गम्भीर घाइते भएका छन् । उनको चरिकोटको पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित : मंसिर २, २०८० १३:४०