कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

खाल्डोको धराप पारी  मारिए २ गैंडा

रमेशकुमार पौडेल

चितवन — तस्करले खाडल खनेर धरापमा पारी चितवन राष्ट्रिय निकुञ्जभित्रका दुईवटा पोथी गैंडा मारी खागसमेत लगेका छन् । करिब डेढ सय मिटर दूरीमा दुई खाल्डो खनी गैंडालाई धरापमा पारिएको हो । 

खाल्डोको धराप पारी  मारिए २ गैंडा

खाल्डोमा मृत अवस्थाका दुवै गैंडा बिहीबार फेला परेको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

‘निकुञ्ज प्रशासन र नेपाली सेनाको गस्ती टोलीले मृत दुवै गैंडा फेला पारेको हो,’ उनले भने, ‘पूर्वी क्षेत्र सौराहाअन्तर्गत पर्ने चपरचुली सुरक्षा पोस्टबाट करिब साढे तीन किलोमिटर पर दक्षिण पश्चिममा घटना भएको हो ।’ गैंडाहरू एउटा १८ र अर्को ६ वर्षका थिए । ठूलो गैंडा १० दिन पहिला र सानो गैंडा तीन दिन पहिला मारिएको अनुमान गरिएको उनले बताए ।

सानो गैंडाको खाग काटेको आलो घाउ देखिन्छ । ठूलो गैंडाको खाग काटेको भाग केही पुरानो देखिन्छ । ‘गोली प्रहारमा जस्तो आवाज नआउने भएकाले तस्करले गैडा मार्न यो विधि अपनाएको हुन सक्छ, तर खाल्डो खन्ने काम पनि कम जोखिमपूर्ण छैन,’ चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने ।

गत माघमा नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ नारायणी नदी किनारमा करेन्ट लगाएर तस्करले दुई गैंडा मारेका थिए । यसपटक पुरानो तरिका अपनाएर निकुञ्ज सीमाभित्रै गैंडा मारेका कारण सुरक्षा चुनौती झनै बढेको संरक्षणकर्मी बताउँछन् । ‘पहिले करेन्ट लगाएर मारेका थिए, यसपटक खाल्डो खनेर धरापमा पारे,’ कुँवरले भने ।

अहिले दुई गैंडा मारिएको अवस्थामा भेटिएका ठाउँमा गएको भदौ महिनामा पनि गैंडाको अस्थिपञ्जर भेटिएको थियो । हाडखोर फेला परे पनि त्यस बेला खाग भेटिएको थिएन ।

गैंडा दुर्लभ वन्यजन्तु हो । गैंडा मारेमा वा यसको अंगको किनबेच र ओसारपसार गरेमा १० लाख रुपैयाँ जरिवाना र १५ वर्ष कैदसम्म हुन सक्ने कानुनी व्यवस्था छ । तर तस्करहरूले गैंडा मारेर खागको अवैध कारोबार गर्दै आएका छन् । कुनै बेला चितवन निकुञ्जमा चोरी सिकारीको समस्या निकै थियो ।

२०५८ सालमा एकै वर्षमा चोरी सिकारीका कारण ३७ वटासम्म गैंडा मरेका थिए । २०६७ सालको पुसदेखि वर्ष दिनसम्म चोरी सिकारका कुनै घटना भएनन् । सरकारले २०६८ पुसमा पहिलो पटक शून्य चोरी सिकार वर्ष मनाएको थियो । आर्थिक वर्ष ०७२/७३ पछिका चार वर्ष पनि शून्य चोरी सिकारी नै रह्यो । त्यसपछि निरन्तर चोरी सिकार हुँदै आएको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार आर्थिक वर्ष ०७२/७३ पछि हालसम्म निकुञ्ज र यस आसपासमा २ सय ४ गैंडा मरेका छन् । तीमध्ये सात गैंडालाई तस्करले मारेको पुष्टि भएको छ । यस वर्ष विविध कारणले आठ गैंडा मरेको र तीन गैंडालाई तस्करले मारेको आशंका गरिएको तिवारीले जानकारी दिए । नेपालभर ७ सय ५२ गैंडा रहेकामा चितवनमा मात्रै ६ सय ९४ गैंडा छन् ।

प्रकाशित : मंसिर २, २०८० ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?