कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

संस्कृतिको जर्गेना गर्न पनौती सम्पदा र्‍याली

ज्योति श्रेष्ठ

काभ्रे — संस्कृतिको जर्गेना गर्न काभ्रेको पनौतीमा भिन्तुना पनौती सम्पदा र्‍याली कार्यक्रम सञ्चालन गरिएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समूहद्वारा नेपाल संवत ११४४ को अवसरमा भिन्तुना पनौती सम्पदा र्‍याली आयोजना गरिएको हो ।

संस्कृतिको जर्गेना गर्न पनौती सम्पदा र्‍याली

१२ औं संस्करणको भिन्तुना पनौती सम्पदा ¥यालीको उद्घाटन बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिंचाईमन्त्री तिर्थ लामाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लामाले कला, संस्कृति र सम्पदाको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताए ।

‘ऐतिहासिक महत्त्व बोकेको पनौतीले यहाँको कला, संस्कृति , सम्पदालाई विश्वसामु चिनाएको छ,’ उनले भने, ‘यहाँको संस्कार, संस्कृतिलाई युगौंयुगसम्म बचाईराख्नु हामी सबैको जिम्मेवारी हो ।’ पनौतीको ऐतिहासिकतालाई जिवन्त राख्नका लागि यहाँका युवा पुस्ताहरुका निरन्तर लागि परेको र भोलि दिनमा यो निरन्तरतालाई कायम राख्नका लागि उनले अनुरोध गरे । पनौतीको वास्तविक पहिचान स्थापित गर्न र यहाँको कला, संस्कार, संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकारले आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

भिन्तुना पनौती सम्पदा र्‍याली पनौतीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको जगेर्ना गर्न ठूलो योग्दान पुर्‍याउने पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए । उनका अनुसार, पनौतीको कला, संस्कृति, रितरिवाज, परम्परालाई जिवन्त बनाई राख्न र यहाँका ऐतिहासिक महत्त्व बोकेका चिनारीलाई विश्वासामु चिनाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमको तयारी गरिरहेको छ ।

पनौतीको कला, संस्कृति र सम्पदाको पहिचान गराउनुको साथै यसको संरक्षण गर्नका लागि पनौती नेपालले ११ वर्षदेखि निरन्तर पनौती सम्पदा र्‍याली कार्यक्रम सञ्चालन गरिरहेको पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठले जानकारी दिए । उनका अनुसार, परम्परा, संस्कृति जगेर्ना गर्नु नै पनौती सम्पदा र्‍यालीको मुख्य उद्देश्य हो । पनौतीका सबै वडाका प्रतिनिधित्व हुने गरी विभिन्न जातजाती, धर्म, संस्कृतिहरुलाई समेटेर कार्यक्रम गरिएको उनले बताए । भिन्तुना पनौती सम्पदा र्‍यालीले पनौती क्षेत्रको थप विकास हुने पनौती नेपाल महिला समूहकी अध्यक्ष सुनमाया प्रधानले बताइन् ।

कार्यक्रममा पनौती र आसपासका क्षेत्रमा रहेका विभिन्न सांस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभूषा आदिलाई कार्यक्रममा सहभागि गराउँदै जाकीडोलको लाखे, तामाङको झाँकी नृत्य, खैजेडी भजन, पनौतीको देवी नाच लगायत डेढ दर्जन भन्दा धेरै झाँकीहरु प्रस्तुत गरिएको थियो । पनौतीको महालक्ष्मी पमाडीटोलबाट सुरु भएको पनौती सम्पदा र्‍याली पनौती बसपार्क हुँदै फर्किएर पनौती गेटबाट इन्द्रेश्वर महादेव पुण्य मावि हुँदै कार्यक्रम स्थल पुगेर समापन भएको थियो ।


प्रकाशित : कार्तिक २८, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?