काभ्रेमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काभ्रे — काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६, स्थित बोक्सेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार, आज (सोमबार) साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गत बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ७५/८० मिटर तल पाखामा खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चौंरीदेउराली गाउँपालिका वडा नं ६ स्थित बोक्सेकी ४५ वर्षीया गोमा चौंलागाईं रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, मोटरसाइकल चालक ४८ वर्षीय दिल्लीप्रसाद चौंलागाईंको घाइते भएका छन् । उनको आँखामा र टाउकोमा लागेको र उनको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
दुर्घटनामा परी दिल्लीप्रसाद चौंलागाईकी श्रीमती गोमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीप्रसादलाई उद्धार गरी कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र)मा उपचार भइरहेको छ ।
प्रकाशित : कार्तिक २८, २०८० ०७:४०