हत्या आरोपमा काभ्रेमा दुई युवक पक्राउ

काभ्रे — हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ५ घर भई हाल कलमसी बस्दै आएका ५५ वर्षीय दुधलाल थिङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ८ का २१ वर्षीय समिर राय र काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं १ का २२ वर्षीय ईश्वर विक रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई असोज १४ गते राति ८ बजे पक्राउ गरेको थियो ।
पक्राउ परेको अभियुक्तहरुले घटना घट्नुअघि दुवैले मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा दुधलाल थिङलाई बाटोमा भेट्दा सामान्य भनाभन भएको र सोही रिसको आवेगमा कुटपिट गरी, लडाएर ढुंगाले टाउकोमा हानेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेको प्रतिवादीहरुलाई मुलुकी फौजदारी अपराधसंहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान ७:५० बजेको समयमा बनेपा नगरपालिका वडा नं १ स्थित कलमसी, प्लटिंग गरेको जग्गामा दुधलाल थिङ मृत अवस्थामा फेला परेका थिए ।
प्रकाशित : आश्विन १५, २०८० १३:१९