कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सक कुटपिटको विरोधमा वाग्मती प्रदेशसभा भवन अगाडि प्रदर्शन

सुवास विडारी

मकवानपुर — चिकित्सक कुटपिटको विरोधमा हेटौंडामा वाग्मती प्रदेशसभाको भवन अगाडि प्रदर्शन गरिएको छ । हेटौंडामा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले हेटौंडा–१० स्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।

चिकित्सक कुटपिटको विरोधमा वाग्मती प्रदेशसभा भवन अगाडि प्रदर्शन

शनिबार बिहान ११ बजेबाट प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवन अगाडि उपस्थित भएका स्वास्थ्यकर्मीले प्लेकार्डसहित सुरक्षाको माग गरेका छन् । उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आन्दोलनका कारण हेटौंडामा स्वास्थ्य सेवा ठप्प छ । हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल, क्लिनिक तथा डेन्टलले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका छन् । बुधबार बिहान हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिकरुपमा आक्रमण भएको थियो । गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए ।

यस्तै, प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले जिल्लामा कार्यरतत सम्पूर्ण डाक्टरहरुलाई काममा फर्किन अपिल गरेका छन् । हेटौंडा अस्पतालमा करिब डेढ घन्टा चिकित्सकसँग सुरक्षाको पूर्ण ग्यारेन्टी लिन राज्य तयार रहेको र घटनामा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता जनाउँदै उनीहरुलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए ।

जवाफमा डाक्टरहरुले नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको अवस्थामा केही समय पर्ख र हेरको अवस्थामै रहेको जनाएका छन् । ‘आइतबारबाट स्वास्थ्य सेवा पूर्णरुपमा सञ्चालन गर्ने विषयमा चिकित्सकहरु सकारात्मक हुनुहुन्छ’, उनले भने । घटनामा संलग्नलाई पक्राउ गर्न प्रशासनले आवश्यक काम गरिरहेको उनले बताए । भने, ‘जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयलाई सीसीटीभी फुटेजको सुक्षम अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गर्न अनुरोध गरेका छौं ।’

डाक्टर कुटपिटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध हेटौंडामा थप अनुसन्धानका लागि तीनदिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार जिल्ला अदालत मकवानपुरले ३ दिनको म्याद थप गरी ४ जनालाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न समय दिएको जानकारी दिए ।

प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न भएकाहरुलाई सीसीटीभी फुटेजका आधारमा बिहीबार रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ । ४ जनालाई पक्राउ गरिएको थियो । अन्यको खोजी भइरहेको उनले बताए । ‘टेक्निकल र म्यानुअल सिस्टमबाट घटनाको अनुसन्धान थालेका छौं’, उनले भने, ‘घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न प्रहरीको प्राविधिक टिमले सीसीटीभी फटेज विश्लेषणको काम गरिरहेको छ ।’

उनले विश्लेषणको रिपोर्टका आधारमा चिकित्सकमाथि हातपात गर्ने जो कोहीलाई पनि प्रहरी हिरासतमा लिइने बताए । ‘घटनामा संलग्न रहेकाहरुको बयान लिने, सोधपुछ गर्ने र सो घटनामा जोडिएर आएका प्रमाणका आधारमा योजना निर्माण गरिएको भए वा देखिएका सबैलाई पक्राउ गरी अनुसन्धान गरिनेछ’, उनले थपे ।

प्रकाशित : भाद्र ३०, २०८० १०:५८
प्रतिक्रिया
पठाउनुहोस्