कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सक कुटपिटमा संलग्‍नलाई तीन दिन म्याद थप

सुवास विडारी

मकवानपुर — हेटौंडामा चिकित्सक कुटपिटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध थप अनुसन्धानका लागि तीन दिनको म्याद थप भएको छ ।

चिकित्सक कुटपिटमा संलग्‍नलाई तीन दिन म्याद थप

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार जिल्ला अदालत मकवानपुरले तीन दिनको म्याद थप गरी चार जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न समय दिएको जानकारी दिए ।

प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न भएकाहरुलाई सीसीटीभी फुटेजका आधारमा बिहीबार चार जनालाई पक्राउ गरिएको थियो । अन्यको खोजी भइरहेको पनि उनले बताए । ‘टेक्निकल र म्यानुअल सिस्टमबाट घटनाको अनुसन्धान थालेका छौं,’ उलने भने, ‘घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न प्रहरीको प्राविधिक टिमले सीसीटीभी फुटेज विश्लेषणको काम गरिरहेको छ ।’

उनले विश्लेषणको रिपोर्टका आधारमा चिकित्सकमाथि हातपात गर्ने जोकोहीलाई पनि प्रहरी हिरासतमा लिइने बताए । ‘घटनामा संलग्न रहेकाहरुको बयान लिने, सोधपुछ गर्ने र सो घटनामा जोडिएर आएका प्रमाणका आधारमा योजना निर्माण गरिएको भए वा देखिएका सबैलाई पक्राउ गरी अनुसन्धान गरिनेछ,’ उनले थपे ।

हालसम्म प्रहरीले घटनामा संलग्न भएका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ ।

नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले उक्त घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै दुई जनाविरुद्ध किटानी जाहेरी दिएका छन् भने सीसीटीभी फुटेजमा देखिएका सबैलाई पक्राउ गरी कारवाही गर्न उनले माग गरेका छन् ।

बुधाबार हेटौंडाको सञ्चो अस्पतालमा दुई चिकित्सकमाथि हातपात भएको थियो । सञ्चो अस्पतालका जनरल फिजिसियन डा. विकास थापा र हेटौंडा अस्पतालका एनएसथेसिया विभागका डा. प्रशान्त विडारीलाई हातपात गरिएको थियो ।

गत साउन २५ गते डेंगी संक्रमणका कारण हेटौंडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकहरूमाथि हातपात भएको थियो । प्रधानको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसअघि हेटौंडा–१ स्थित उक्त अस्पतालमा उपचारका लागि भर्न भएका प्रधानलाई थप उपचारका लागि भरतपुर लगिएको थियो ।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा शुक्रबार हेटौंडाका स्वास्थ्य सेवा ठप्प पारिएको छ । हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।

प्रकाशित : भाद्र २९, २०८० १५:३०
प्रतिक्रिया
पठाउनुहोस्