वाग्मती प्रदेशसभाको बैठक स्थगित


मकवानपुर — वाग्मती प्रदेशसभाको आज शुक्रबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै बैठक एक दिन पर सारिएको हो । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विशेष कारणले शुक्रबारको बैठक चल्न नसक्ने बताएपछि शनिबारका लागि बैठक सारिएको हो । सभामुख पाठकको निर्देशन अनुसार प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक सारेको हो । बैठक सारिएको विषयमा बिहीबार नै सांसदलाई जानकारी गराइएको छ ।
बैठकमा विशेष समयको कार्यसूचीसहित प्रदेशसभामा पेस भएका विधेयकहरूलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको थियो । प्रदेशसभामा पेस भएका विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाइने तयारी थियो ।
यसअघि भदौ २४ गते बसेको प्रदेशसभा बैठकमा सो विधेयकहरू पेस भइ सैद्धान्तिक छलफल भएको थियो । संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शनिबारको बैठक स्थगित हुने सचिवालयले जनाएको छ ।
प्रकाशित : भाद्र २९, २०८० ०९:१७