आलोपालोमा अब को प्रधानमन्त्री हुने भन्नेबारे यकिन छैन : महामन्त्री शर्मा


सिन्धुली — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आलोपालोमा अब को प्रधानमन्त्री हुने भन्नेबारे यकिन नभएको बताएका छन् । कांग्रेसले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटकभन्दा बढी हुन नपाउने नीति अधिवेशनबाट पास गर्ने भएकाले को प्रधानमन्त्री हुन्छ भन्ने अहिले नै भन्न सकिने स्थिति नरहेको उनले जनाए ।


बिहीबार बिहान प्रेस युनियनले सिन्धुलीमाडीमा आयोजना गरेको कार्यक्रममा आगामी मंसिरमा हुने कांग्रेसको महासमिति बैठकमा यो एजेन्डा लगेर सैद्धान्तिक सहमति गरी नीति अधिवेशनबाट पारित गराउने तयारी भइरहेको महामन्त्री शर्माले बताए ।
कांग्रेस सभापति देउवाले एक प्रसंगमा यो नियम पास भए आफू प्रधानमन्त्री हुन नपाउने भन्दै हस्यौली गरेको समेत महामन्त्री शर्माले बताए । कांग्रेसले गरेका राम्रा कामको प्रचार हुन नसकेकाले जनतामा भ्रम सिर्जना भएको उनको भनाइ थियो ।
प्रकाशित : भाद्र २८, २०८० १०:५१