चितवनका व्यवसायीले मागे घर भाडामा छुट

रमेशकुमार पौडेल

चितवन — सटर र कोठा भाडामा लिएर व्यवसाय गर्दै आएका चितवनका व्यवसायीले घर भाडामा छुट माग गरेका छन् । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले शुक्रबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा २० प्रतिशतदेखि शतप्रतिशतसम्म भाडा छुट हुनु पर्ने माग गरेको हो ।

चितवनका व्यवसायीले मागे घर भाडामा छुट

मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीले आर्थिक मन्दीका कारण साविकको भाडा तिर्न व्यवसायीलाई सकस परिरहेकोले भाडा दर घटना घरधनीलाई आग्रह गरे ।

‘आर्थिक मन्दी चरम छ । व्यापार छैन । यस्तो बेलामा साविकको भाडादर तिर्न सकस छ । हामी कम्तीमा २० प्रतिशत भाडादर घटाउन घरधनीलाई अनुरोध गर्दछौं,’ पराजुलीले भने । आर्थिक मन्दी हटेर व्यवसाय पूर्ववत् अवस्थामा आएपछि मात्रै घटेको भाडादर हटाएर साविकको भाडादर लिनु पर्ने उनले बताए । उनका अनुसार जिल्लाभर १३ सय व्यापारीले भाडामा घर र कोठा लिएर व्यवसाय गरेका छन् ।

राजमार्ग र अन्य सडकहरु निर्माणका क्रममा रहेका कारण पसल खोले पनि व्यवसाय हुने वातावरण नरहेको उनको भनाइ छ । ‘विकास निर्माण कार्यअन्तर्गत राजमार्ग विस्तारका क्रममा प्रत्यक्ष्य प्रभावित व्यवसाय स्थलका पसलहरु पूर्णरुपमा सञ्चालन हुन नसक्दासम्म पूर्ण रुपमा भाडा छुट होस् भन्ने हाम्रो माग हो,’ पराजुलीले भने । हाल भरतपुर नारायणगढ क्षेत्रमा राजमार्ग विस्तारको काम भइरहेको छ । जसका कारण व्यवसाय हुन नसकेको उनले बताए । यस्ता ठाउँहरुमा एउटा सटर कोठाको महिनाको भाडा २५ हजारदेखि ८० हजार रुपैयाँसम्म पर्दछ ।

घर बहाल कर घरधनी स्वयंले तिर्नु पर्ने व्यवस्था रहेको तर व्यवसाय कर तिर्दा चुक्ताका लागि व्यवासीलाई उत्तरदायी बनाउन खोजिएको मञ्चको भनाइ छ । यसलाई घरधनी र स्थानीय निकायले व्यवस्थित गर्नु पर्ने मञ्चका अध्यक्ष पराजुलीले बताए । त्यसैगरी बैंक तथा वित्तीय निकायले कर्जाको ब्याजदर एक अंकमा सीमित गर्न, आवश्यकताअनुसार पुनर्कर्जाको व्यवस्था गर्न उनले राष्ट्र बैंकसँग माग पनि गरे । मञ्चको यी मागहरुमा विभिन्न १८ वटा व्यवसायी संघ संस्थाहरुको ऐक्यबद्धता रहेको पराजुलीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २६, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?