कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्गमा लगाइएको टाइमकार्डले यात्रामा कठिनाइ

टाइमकार्ड नटेर्ने सार्वजनिक यातायातले एक पटकमा १ हजार ५ सयसम्म जरिवाना तिर्नुपर्छ भने बिरामी, अशक्त, कार्यालयको काम भ्याउने, विदेशको यात्रा गर्नेलगायतलाई सास्ती छ
टीकाप्रसाद भट्ट

रामेछाप — दुर्घटना कम गराउने बहानामा प्रहरीले बीपी राजमार्गका ठाउँ–ठाउँमा लगाएको टाइमकार्डले सार्वजनिक सवारीसाधनका यात्रु अनावश्यक कष्ट व्यहोर्न बाध्य छन् । यो सुनकोशी किनारको मार्ग हो । ३५ डिग्री तापक्रमको उखरमाउलो गर्मीमा बिरामी, अशक्त र वृद्धवृद्धालाई लिएर हुइँकिने भाडाका गाडी टाइमकार्डका कारण ठाउँ–ठाउँमा रोकिएका देखिन्छन् ।

बीपी राजमार्गमा लगाइएको टाइमकार्डले यात्रामा कठिनाइ

राजमार्गमा असीमिति गतिमा हुइँकिने सार्वजनिक सवारीसाधनलाई सम्भावित दुर्घटना कम गर्न प्रहरीले टाइमकार्ड लागू गर्दै आएको छ । टाइमकार्डको बेवास्ता गर्दै तोकिएको समयभन्दा चाँडो गन्तव्यमा पुगेमा चर्को जरिवाना लगाउने गरिएको छ । नदीतीरको प्रचण्ड गर्मीमा सडकछेउमा समय गुजार्नुपर्दा सर्वसाधारण यात्रुले सास्ती व्यहोर्नुपरेको छ । निजी र सरकारी साधनलाई भने निर्बाध कुद्न दिइएको छ । प्रहरीको उक्त व्यवहारको सर्वत्र निन्दा हुन थालेको छ ।

‘यो हदैसम्मको ज्यादती भयो,’ वाग्मती प्रदेशका सांसद आनन्दकुमार श्रेष्ठले भने, ‘कोही मजाले यात्रा गर्ने अनि जो निम्सरो छ, जसले भाडाको गाडी प्रयोग गर्नुपर्छ, जो अशक्त छ, त्यसैले थप पीडा हुने व्यवहार सहनुपर्ने ? यो भएन । उनले खुर्कोटबाट सामान्यतया ३ घण्टा लाग्ने काठमाडौंको यात्रा टाइमकार्डर्कै कारण ४ घण्टाभन्दा बढी लाग्ने बताए ।

बीपी राजमार्गका व्यवसायीसँगको मिलेमतोमा प्रहरीले विभिन्न ३ ठाउँमा टाइमकार्ड लगाएको हो । सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म, काभ्रेको मंगलटारदेखि भकुन्डेबेंसीसम्म र भकुन्डेबेंसीदेखि काभ्रे भन्ज्याङसम्म टाइमकार्ड लागू छ । टाइमकार्डमा समय नलेखाई यात्रा गर्ने भाडाका यात्रुवाहक साधनले एक पटकमा १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने बाध्यता छ । ‘कुनै बेला हामी बिरामी बोकेर हिँडिरहेका हुन्छौं,’ सवारी चालक रमेश अधिकारी भन्छन्, ‘त्यस्तो बेलामा पनि प्रहरीले जरिवाना लिन छोड्दैन । बिरामीको चित्कार सुनेर सडकमा बस्नुपर्छ । कार्यालयको काम भ्याउने, विदेशको यात्रा गर्नेलगायतलाई पनि टाइमकार्डकै कारण यात्रा असहज बनेको उनको कथन छ ।

राजमार्गमा पर्ने काभ्रेको भकुन्डेबेंसीबाट काभ्रे भन्ज्याङको दूरी जम्मा १३ किलोमिटर छ । उक्त सडक पार गर्नका लागि सार्वजनिक सवारीसाधनलाई ३५ मिनेटको समय तोकिएको छ । त्यसैगरी मंगलबाटबाट भकुन्डेसम्म १८ किलोमिटर यात्राका लागि ४० मिनेट तोकिएको छ । यी दुवै सडक दूरी पार गर्न करिब ५० मिनेट लाग्ने चालक बताउँछन् । चालक रामहरि खड्का भन्छन्, ‘खुर्कोटदेखि नेपालथोकसम्मको यात्राका लागि १ घण्टा १० मिनेट तोकिएको छ । जतिसुकै बिस्तारै गाडी चलाउँदा पनि २० मिनेट जति त्यसै बिसाउनुपर्छ ।’

प्रहरीले राजमार्गका ठाउँ–ठाउँमा खुलेका होटल/रेस्टुरेन्टबाट अनुचित लाभ लिने गरी टाइमकार्ड लगाएको आरोप प्रदेशसभा सदस्य श्रेष्ठको छ । जबरजस्ती गाडी रोकिएपछि यात्रुले त्यहाँका होटलमा खाना, खाजा खानुपर्ने बाध्यता सिर्जना गरिएको छ । ‘होटल अगाडि सडकमा लगेर गाडी रोक्छ, भोक लागेको छैन भने पनि कोही खाइरहँदा अर्कोले पनि खानुपर्ने अवस्था आउँछ,’ सांसद श्रेष्ठले भने । उनले केही दिनअघि प्रदेशसभा संसद्मा यस विषयमा कुरा उठाएको जनाए ।

जिल्लावासीले बीपी राजमार्गमा लगाउने टाइमकार्ड हटाएर निर्बाध सवारीसाधन सञ्चालनको व्यवस्था गर्न पटकपटक प्रहरीका उच्च अधिकारीलाई याचना गर्दै आएका छन् । यही साता रामेछाप पुगेकी वाग्मती प्रदेश प्रहरी प्रमुख किरण राणालाई रामेछापका नागरिक अगुवाले ध्यानाकर्षण गराएका छन् । बीपी राजमार्गको टाइमकार्डका कारण सर्वसाधारणको यात्रा असहज भएकाले हटाउनुपर्ने उनीहरूको आग्रह छ । राणाले पनि उक्त समस्याका बारेमा चाँडै निर्णय दिने बताएकी थिइन् ।

दुर्घटना कम गराउने उद्देश्यले प्रहरीले टाइमकार्ड लगाए पनि सडकमा गुड्ने भाडाका साधनले आफ्नो गति सीमित गर्दैनन् । कुद्न सक्ने जति कुदेर एउटा होटलको अगाडि रोक्छन् । होटलवालाले त्यसरी गाडी रोकिदिने सवारी चालकलाई नियमित रकम दिने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बीपी राजमार्गमा टाइमकार्डका कारण यात्रामा असहजता पैदा भएको गुनासो बारम्बार आएकाले यसबारेमा सुधारका लागि आवश्यक परामर्श भइरहेको बताए । ‘हामी टाइमकार्डका कारण सर्वसाधारणलाई अहिले भइरहेको जस्तो समस्या नहोस् भन्ने पक्षमा छौं,’ सिलवालले भने, ‘एउटा समिति बनाएर अध्ययन गर्ने र त्यसको प्रतिवेदनका आधारमा निर्णयमा पुग्नेछौं । यो विषय प्रहरीको मात्र जिम्मेवारी नभएकाले सडक विभागले समेत चासो दिनुपर्ने उनले बताए ।

प्रकाशित : जेष्ठ २५, २०८० २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?