लिखु-२ को सुरुङ चुहिएपछि १६ परिवारलाई सुरक्षित स्थानमा सारियो

टीकाप्रसाद भट्ट

रामेछाप — निर्माणाधीन लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएका कारण जोखिममा परेका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सोमबारदेखि विस्थापित परिवारलाई आयोजनाले अस्थायी बासस्थान र खानाको प्रबन्ध गरेको हो ।

लिखु-२ को सुरुङ चुहिएपछि १६ परिवारलाई सुरक्षित स्थानमा सारियो

५५ मेगावाट क्षमताको उक्त आयोजनाको उत्पादन गृहमा पानी खसाली परीक्षण गर्ने क्रममा सुरुङ भन्दा तल्लो भाग फुटेको थियो । पानीले घर पुग्ने बाटो नभएको, घरभित्रै पानी पस्न र पहिरो खस्न थालेपछि विस्थापितलाई अस्थायी बसोबासको प्रबन्ध गरिएको हो ।

सुरुङभन्दा तल्लो भागमा पानीका कारण भूक्षय हुने त्रास बढेकाले स्थानीय प्रशासनले आयोजनालाई सुरुङ बन्द गर्न आग्रह गरेको थियो । तर आयोजनाले स्थानीय प्रशासन र जनप्रतिनिधिको कुरा अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले विद्युत् विकास विभागलाई गुहारेको थियो । विभागको निर्देशनमा आयोजनाले केही दिनअघिबाट सुरुङमा पानी पठाउन रोकेको छ । तर पानी चुहिने क्रम भने रोकिएको छैन । सुरुङभित्र भरिएको पानी खोल्न नमिल्ने भन्दै आयोजनाले सुरुङ खाली गर्न मानेको छैन ।

स्थानीयले सुरुङका कारण रामेछापको उमाकुण्ड–१, गुम्देलको पेकरनास र आसपासका ४२ घरपरिवार उच्च जोखिममा परेको भन्दै अन्यत्र बसोबासको व्यवस्थापनका लागि माग गर्दै आएका थिए । ४२ मध्ये अति जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएकोले अब विज्ञ टोलीको प्रतिवेदन आएपछि थप निर्णय हुने आयोजनाले जनाएको छ ।

विभागले गठन गरेको विज्ञ टोली सोमबार साँझ आयोजना क्षेत्रनजिक बाम्ती पुगेकोले मंगलबारदेखि काम थाल्ने अपेक्षा गरिएको छ । यसअघि विद्युत् विकास विभागले पठाएका २ जना विज्ञको टोलीले समेत प्रभावित क्षेत्रमा चुहिएको पानीको अध्ययन आएका छन् ।

प्रकाशित : जेष्ठ २४, २०८० १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?