कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोशी जिप दुर्घटना : कोशी थुन्नै कठिन, पाँचौं दिन पनि प्रयास जारी

राजकुमार कार्की

खुर्कोट, सिन्धुली — सोमबार रातको ९ बजेसम्म कोशी फर्काउन लगातार मेसिनले काम गरे । रातमा बत्ती बालेर लगातार गरेको मेहनत मंगलबार बिहान हेर्दा उस्तै भयो ।

सुनकोशी जिप दुर्घटना : कोशी थुन्नै कठिन, पाँचौं दिन पनि प्रयास जारी

सुनकोशी नदीलाई थुनेर पानीको बहाव अर्कोतर्फ लगाई बेपत्ताहरू खोजी गर्ने काममा जुटेको टोलीले पाँचौं दिन मंगलबार पनि प्रयास जारी राखेको छ । दुवैतर्फबाट सुनकोशीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापतर्फबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने खोजी कार्यमा संलग्न वाग्मती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री प्रदीप कटुवालले बताए ।

कोशीमा राति पानीको मात्रा बढ्ने भएकाले दिउँसै काम सक्नेगरी लागिपरेको उनको भनाइ छ । कोशी थुनेर पानीको बहाव अर्कोतर्फबाट कटाउन थोरै मात्र काम बाँकी रहेकोमा राति कोशी बढेर बगाएको कटुवालले जानकारी दिए । मंगलबार बिहानैबाट कोशी थुन्ने काम सुरु भएको छ, मध्याह्नसम्ममा सफलता मिल्छ होला,’ उनले भने, ‘यति धेरै मेहनत गरिएको छ । बेपत्ताहरू भेटिनेमा आशावादी छौं ।’

सुनकोशीको पानीलाई पूरै फर्काएर बहाव डाइभर्ट नगराएसम्म गोताखोरहरूले खोज्नै नसकिने जनाएका छन् । घटनास्थल वरपर कोशीको पानी ठाडो बगेकाले करेन्ट बढी हुँदा गहिराइमा पुगेर खोज्न नसकिएको गोताखोर केशव महतले बताए । र्‍याफ्टिङ लिएर माथिमाथि, कुना कन्दरामा खोजी गरे पनि गहिराइमा पुग्न नसकेको उनले जनाए । पानीको वेग चर्को भएकाले अलिकति तल जानासाथ हुत्याइदिने र घुमाउनेमा फसिने डर हुने भएकाले पानी डाइभर्ट नभएसम्म खोजी कार्यले सफलता नपाउने गोताखोरहरूको निष्कर्ष रहेको छ ।

सशस्त्र प्रहरी,सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले सुनकोशी नदीमा पाँच दिनअघि जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृतलाई फेला पार्न सकेका छैनन् । घटना भएको दोस्रो दिनबाट नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भएको हो । त्यो अझै जारी छ । चारवटा स्काइभेटर, तीनवटा जेसीबी, डोजर, पाँचवटा टिपर र ट्य्रााक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहेको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कोर्पियो जिप शुक्रबार मध्याह्नमध्ये पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनमा दुर्घटना भई सुनकोशी नदीमा खसेर बेपत्ता हुँदा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक अधिकृत भानु पौडेलको अवस्था अज्ञात रहेको छ । चालक दाङ घर भएका कृष्ण चौधरी पौडिएर निस्किएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०८० १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?