

सिन्धुली — एकातर्फ सुनकोसीको भँगालोलाई पूरै फर्काएर बहाव डाइभर्ट गराउने प्रयास जारी छ भने अर्कोतर्फ दुई दर्जनको हाराहारीमा रहेका गोताखोरहरु र्याफ्टिङ लिएर खोंचमा चाहारिहेका छन् ।


चार दिनदेखि सुनकोशी नदीको बहावलाई आधा फर्काएर खोजी गर्दासमेत हराइरहेको जिप र त्यसमा सवार सीटीईभीटीका तीन जना अधिकारीहरु फेला परेका छैनन् । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थान समेत चारवटा टोलीले सुनकोशी नदीमा चार दिनअघि जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यवसाायिक तालिम परिषद (सीटीइभीटी) का दुई निर्देशक र अधिकृतलाई फेला पार्न सकेका छैनन् ।
घटना भएको दोस्रो दिनबाट नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भएको हो । त्यो अझै जारी छ । सुरुदेखि नै बेपत्ता खोजी कार्यमा जुटेका वाग्मती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री प्रदीप कटुवाल पानीको बहावलाई डाइभर्ट गर्न दर्जनौं मेसिनहरु परिचालनको अगुवाइ गरिरहेका छन् ।
'हामी पानी कम गराउने प्रयासमा छौं,' उनले भने, ‘गोताखोरहरु घटनास्थलबाट ८ किलोमिटरको तल गएर खोजिसकेका छन् । पानी बहाव कम नहुनु र धमिलो भएकाले भेट्न सकिएको छैन ।’ सुनकोशीलाई पूरै थुनेर अर्कोतर्फ लगाउन सके बेपत्ताहरु फेला पर्ने आशा लिएर काम भइरहेको उनले बताए ।
सुनकोशीको पानीमा बढी करेन्ट रहेकाले नदीको तल्लो भागसम्म गएर खोज्न कठिनाइ भएको गोताखोरहरुले बताएका छन् । खोजी कार्यमा जुटेका सन्तोष सापकोटाका अनुसार सुनकोशीको बहाव फर्काउन बिहानदेखि साँझसम्मै लगातार काम भइरहेको छ । विभिन्न उपकरणको प्रयोग गरेर पानीका बहाव अर्कोतर्फबाट फर्काउन थालिएको छ ।
सोमबारको प्रयासले घटनास्थलको पाँच सय मिटर पेरीफेरीमा बेपत्ता भए भेटिने आशा पलाएको छ । आधा पानी फर्काउँदा समेत करेन्ट प्रवाह नघटेकाले खोजीमा असहजता भएको गोताखोर टोलीले जनाएका छन् ।
गत शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार मध्याह्न मध्य पहाडी लोकमार्गको खुर्कोट– घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनमा दुर्घटना भइ सुनकोशी नदीमा खसेर बेपत्ता भएको हो ।
जिपमा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका ७ का योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक अधिकृत भानु पौडेल थिए । चालक दाङ घर भएका कृष्ण चौधरी भने पौडिएर निस्किएका थिए ।
