दोलखाको शारदा माविमा शिक्षक माग्दै विद्यार्थी आन्दोलित


दोलखा — विषयगत शिक्षकको माग गर्दै विगु गाउँपालिका–३ शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलमा उत्रिएका छन् । उनीहरुले सोमबार कक्षा बहिस्कार गरेर नाराबाजी गर्दै चर्को घाममा विद्यालयमा विरोध प्रर्दशन गरे ।


गत वर्ष फागुनदेखि नै दरबन्दी अनुसारका ४ जना शिक्षक विद्यालयमा नभएपछि पठनपाठन प्रभावित बनेको छ । विद्यार्थीहरुले विषयगत शिक्षक अभावमा पठनपाठन नभएका कारण आन्दोलनमा उत्रिनु परेको बताएका छन् । शिक्षा सेवा आयोगबाट स्थायी दरबन्दीमा नाम निकालेर आएका शिक्षक आउने भएपछि राहत कोटाका शिक्षकले उक्त विद्यालयबाट राजीनामा दिएका थिए ।
तर स्थायी दरबन्दीसमेत उक्त विद्यालयमा कोटा नपरेपछि पठनपाठ प्रभावित बनेकोले विद्यार्थी आन्दोलनमा उत्रेको प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीले बताए । ‘विद्यालयमा शिक्षक भर्नाका लागि गएको फागुनमा विज्ञापन गरिएको थियो,’ उनले भने ‘तर अझैसम्म करारमा लिइने शिक्षकको परीक्षासमेत हुने सकेको छैन ।’
राजनीतिक आधारमा विद्यालयका प्रधानाध्यापक परिवर्तन गरेर मात्रै शिक्षक भर्ना गर्ने विद्यालय व्यवस्थापन र पालिकाको शिक्षा शाखाको अडानका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको ठकुरीले बताए ।
‘मेरो विषयमा विद्यालयको प्रअ छोड्नु पर्छ भन्ने सर्त राखेका छन् । म छोड्छु तर शिक्षक छिटो भर्ना गरेर विद्यार्थीलाई पठनपाठन सहज गरौं भन्दा पनि सबै निकाय कानमा तेल हालेर बसेका छन्,’ उनले भने ।
पछिल्लो समय उक्त विद्यालयमा व्यवस्थापन समिति र प्रधानाध्यापकबीचको विवादले उत्कर्ष लिएको छ । विगु गाउँपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले विद्यालयमा रिक्त रहेको दरबन्दी माग गर्न विद्यालय व्यवस्थापन र प्रशासन नआएका कारण विज्ञापन खुलाउन कठिनाइ भएको बताए ।
‘विद्यालयमा देखिएको विवाद समाधान गर्न सहजीकरण गरे पनि अझै विवाद समाधान हुन सकेको छैन,’ एक अभिभावकले भने भने, ‘विद्यालय व्यवस्थापन समिति र प्रअलाई अल्टिमेटम दिएका छौं ।’
प्रधानाध्यापक र व्यवस्थापन समितिको लडाइँले विद्यार्थीको पठनपाठन प्रभावित बन्दै गएकाले तत्काल हस्तक्षेप गरेर भए पनि सहज बनाउनुपर्ने अभिभावकहरूको भनाइ छ । विगत ४ महिनादेखि विद्यालयमा प्रअ र व्यवस्थापन समितिको विवादले पठनपाठन प्रभावित बनेको छ ।
प्रकाशित : जेष्ठ २२, २०८० १४:२९