कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धुलिखेललाई प्लास्टिकरहित नगर बनाइने

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेस्थित पर्यटकीय क्षेत्र धुलिखेललाई प्लास्टिकरहित नगर बनाइने भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित सरसफाइ कार्यक्रममा धुलिखेललाई शान्त, हराभरा र सफा राखी पर्यटन प्रवर्द्धनका लागि प्लास्टिकरहित नगर बनाइने क्षेत्रीय होटल एसोसिएसन काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकाजु श्रेष्ठले बताए ।

धुलिखेललाई प्लास्टिकरहित नगर बनाइने

उनका अनुसार पर्यटकीय क्षेत्रको रुपमा परिचित धुलिखेललाई प्रदूषणमुक्त बनाउनका लागि प्लास्टिकरहित क्षेत्र घोषणा गर्न अभियान स्वरुप कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ । यसको सुरुआत वातावरण दिवसबाट भएको उनले जानकारी दिए । ‘धुलिखेलको पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा पहिले धुलिखेललाई सफा र हराभरा बनाउन आवश्यक छ,’ होटल एसोसिएसन काभ्रेकी सचिव ज्योत्सन सैंजुले भनिन्, ‘यसका लागि हामीले विशेष गरेर सरसफाइमा ध्यान दिनुपर्छ, जसका लागि होटल एसोसिएसनले प्लास्टिकरहित क्षेत्र घोषणाका लागि अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।’ यस अभियानमा सबैको साथ र सहकार्यको आवश्यक रहेको उनले बताइन् ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै क्षेत्रीय होटल एसोसिएसन काभ्रेको आयोजनामा सञ्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले प्रदूषण निर्मूल पार्नका लागि प्लास्टिकजन्य सामग्रीको प्रयोगलाई कमी गर्नुपर्ने बताए ।

त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले समाजलाई सफा र हरियाली बनाउनु सबैको दायित्व भएको र यसको सुरुआत सबैले आफ्नो घरबाटै गर्नुपर्ने बताए । उनका अनुसार हामीले प्लास्टिकको प्रयोगलाई मात्रै कम गर्न सक्यौं भने पनि फोहोर निर्मूल पार्न सहज हुन्छ ।

यस्तै वातावरण दिवसको अवसरमा जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको संयुक्त आयोजनमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यालय परिसरलाई सफा र हरियाली कायम गर्न वृक्षारोपण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनका अनुसार कार्यालय परिसरमा विभिन्न जातका बिरुवाहरू रोपिएका छन् । कार्यालय परिसरमा रोपिएका बिरुवाहरूको संरक्षण गरिने जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले बताए ।

प्रकाशित : जेष्ठ २२, २०८० १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?