कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढिला आउने शिक्षकलाई विद्यार्थीले तोके जरिवाना 

टीकाप्रसाद भट्ट

रामेछाप — शिक्षक ढिलो आउँदा विद्यालयमा कहिल्यै निर्धारित समयमा कक्षा सुरु हुन नसकेपछि रामेछापको बाबियाखर्कस्थित शारदा संस्कृत माविको बाल समूहले जुक्ति निकाल्यो – ढिला आउने शिक्षकलाई सार्वजनिक स्थानमै जरिवाना गर्ने । 

ढिला आउने शिक्षकलाई विद्यार्थीले तोके जरिवाना 

विद्यालयले पौने १० बजे गर्ने सामूहिक राष्ट्रिय गानको क्रममा विद्यार्थी अघिल्तिर नउभ्भिने शिक्षकलाई जरिवाना गर्ने निर्णय गरेपछि शिक्षकहरू समयमै विद्यालयमा पुग्न थालेका छन् ।

प्रार्थना गर्दा अघिल्तिर नउभिने शिक्षकले १ सय ५० रुपैयाँ जरिवाना तिर्नुपर्ने भएपछि शिक्षकहरू समयमै विद्यालय आउन थालेका हुन् । यो शैक्षिक सत्रको सुरुदेखि नै जरिवाना लिने काम प्रभावकारी रुपमा अघि बढेको छ ।

प्रधानाध्यापक नारायणप्रसाद घिमिरे भन्छन्, ‘पैसाभन्दा पनि विद्यार्थीको अघिल्तिर जरिवाना तिर्नुपर्ला भन्ने पिरलो शिक्षकलाई छ । पहिले केहि ढिला विद्यालयमा आउने शिक्षकहरू अचेल समयअघि नै आइपुग्छन् । ‘जो समयमा आउन सक्दैनन्, उनीहरूले ढिलो भएकाले आज आइनँ है भनेर खबर गर्नुहुन्छ,’ घिमिरेले भने, ‘विद्यार्थीले लगाएको जरिवानाकै कारण हालसम्म ५ जना शिक्षकले आकस्मिक बिदा लिनुपरेको घिमिरे बताउँछन् । काम विशेषले विद्यालयबाट बिदा स्वीकृत गराएर बस्ने शिक्षकले भने जरिवाना तिर्नुपर्दैन ।

शिक्षकहरूलाई मात्र होइन, विद्यार्थी समूहले आफैंलाई पनि जरिवाना तोकेका छन् । प्रार्थनाको समयमा नपुग्ने विद्यार्थीले २० रुपैयाँ समूहलाई जरिवाना बुझाउनुपर्छ । ‘कुन कक्षाको को आएन, प्रार्थनाकै बेलामा जाँच हुन्छ र उसलाई जरिवाना तोकिन्छ,’ समूहकी अध्यक्ष सुस्मिता साई भन्छिन्, ‘अहिलेसम्म करिब १ सय जनाले जरिवाना तिरिसक्नुभएको छ । विद्यार्थीबाट उठेको जरिवानाले समूहबाट खेलकुद सामग्री खरिदका साथै विपन्न विद्यार्थीलाई कलमकापी किन्ने गरेका छौं ।’

प्रकाशित : जेष्ठ २२, २०८० १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?