कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाखैभरि पोखरी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिकाले वर्षायाममा परेको पानीलाई पाखैमा छेक्नका लागि पोखरी निर्माणको अभियान थालेको छ । पोखरीमा पानी जमाउन सके पाखालाई रसिलो बनाउन सकिने भन्दै उक्त अभियान सञ्चालन गरिएको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । 

पाखैभरि पोखरी

‘अभियानको रुपमा पाखैभरि पोखरी निर्माण गरी पानी बगेर जाने क्रमलाई रोक्न थालेका हौं,’ उनले भने । भिरपानीको छापगाउँ नजिकै झन्डै २ करोड लिटर पानी अट्ने पोखरी निर्माण भइरहेको छ । पानी संकलन गरी जमिनमा रिचार्ज गराउने उद्देश्यले झन्डै ३० लाख खर्चेर उक्त पोखरीको निर्माण थालिएको हो । उक्त पोखरीमा गोगगपानी डाँडादेखिको पानी कुलो बनाएर लैजाने योजना छ ।

‘पोखरीमा पानी जम्यो भने त्यसभन्दा तल पानीको रिचार्ज हुने र हरियाली हुने विश्वास लिएका छौं,’ उनले भने । रिचार्जका हिसाबले निर्माण हुने उक्त पोखरीमा सिमेन्टको प्रयोग नगरिने उनले बताए । भरसक हाम्रै गाउँघरको प्रविधिले पानी अड्याउँछौं, अडिएन भने रानीपोखरीको झैं कालिपाटी ल्याएर भए पनि पानी जमाउँछौं,’ श्रेष्ठले योजना सुनाए ।

अघिल्लो पुस्ता गाउँमा बस्थ्यो । बस्तुभाउलाई वनमा चराउन लैजाँदा पानी चाहिन्छ भनेर पोखरीहरू निर्माण गरिएका हुन्थे । अहिले ती पोखरीहरू पुरिएको अवस्थामा छन् । स्थानीय जीतबहादुर श्रेष्ठले भने, ‘कतिपय सडक निर्माणका कारण पोखरीमा पानी आउने खोल्सीहरू भत्किएका छन् । पोखरी एकातिर कुलो अर्कैतिर पारिँदा पानी संकलन नभएको हो ।’ गाउँमा बसोबास पातलिएकाले बस्तुभाउहरू वनपाखामा लैजान छाडिएकाले पनि पुराना पोखरीहरूको मर्मत गर्न छोडिएको उनले बताए ।

गाउँभरि पोखरी निर्माण गर्ने अभियानमा गाउँपालिकालाई डिभिजन वन कार्यालयले समेत सघाएको छ । डिभिजन वन कार्यालय रामेछापले खाँडादेवीभर १ सयवटा पोखरी निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । जमिन ओसिलो बनाउनेमात्र नभई बोटबिरुवा र जंगली जनावरका लागि पानी संकलन गर्ने उद्देश्यले उक्त अभियानमा वन कार्यालयले सघाउने भएको हो । उक्त कार्यालयले यसअघि मन्थली नगरपालिकामा जंगली जनावरका लागि केहि पोखरीको निर्माण गरिसकेको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?